कुशल भुर्तेलको कीर्तिमान र बलिङको सनसनीमा पोखराद्वारा काठमाडौं ५५ रनले पराजित

Image

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजमाथि ५५ रनको सानदार जित हात पारेको छ।

त्रिवि क्रिकेट मैदानमा भएको यस खेलमा पोखराले प्रस्तुत गरेको विशाल लक्ष्य पछ्याउने क्रममा काठमाडौंको ब्याटिङ लाइनअप असफल हुन पुग्यो। यसअघि नै प्लेअफ समीकरण पक्का गरिसकेको काठमाडौंविरुद्धको यो जितसँगै पोखराले यस सिजनको सुखद अन्त्य गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२४ रनको कीर्तिमानी विशाल योगफल तयार पार्‍यो। पोखराका लागि ओपनिङमा आएका कुशल भुर्तेल र युवराज सम्राले पहिलो विकेटका लागि १८६ रनको ऐतिहासिक तथा सनसनीपूर्ण साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याएका थिए। कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गर्दै मात्र ५१ बलमा ८ चौका र ८ छक्काको मद्दतले ९९ रन बनाए। उनी मात्र १ रनले शतक बनाउन चुकेपनि T20 क्रिकेटमा नेपाली ब्याट्सम्यानतर्फ यो उत्कृष्ट इनिंगको रूपमा दर्ज भएको छ। त्यस्तै, अर्का ओपनर युवराज सम्राले ५५ बल खेल्दै ८ चौका र ५ छक्काको मद्दतमा ८९ रनको उत्कृष्ट योगदान दिए। इनिंगको अन्त्यमा कप्तान चमिका करुणारत्नेले नटआउट रहँदै ७ बलमा १९ रन जोडे।

२२५ रनको कठिन लक्ष्य पछ्याउने क्रममा मैदान उत्रिएको काठमाडौं गोर्खाजले १९.५ ओभरमा अलआउट हुँदै मात्र १६९ रन बनाउन सक्यो। पोखराका बलरहरूको अनुशासित र घातक बलिङसामू काठमाडौँका ब्याट्सम्यानहरू सुरुदेखि नै दबाबमा आए र ठूलो लक्ष्यको दबाब थेग्न सकेनन्। काकातर्फबाट स्मित पटेलले ३४ रन, सुश देवकोटाले २९ रन र विलियम बोस्टोइडले २६ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। पोखराका लागि बलिङतर्फ दिनेश खरेलले घातक बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए। त्यस्तै, विपिन खत्रीले ३ विकेट हात पार्दा सनम बीकेले पनि १ विकेट लिएर काठमाडौंको इनिंगलाई ध्वस्त पारे।

यस खेलको नतिजासँगै एनपीएलको प्लेअफ समीकरण पूर्ण रूपमा स्पष्ट भएको छ। पराजयका बाबजुद काठमाडौं गोर्खाज अंक तालिकामा ८ अंकका साथ तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगिसकेको छ। अब फाइनल प्रवेशका लागि एलिमिनेटर खेलमा काठमाडौंले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ।

यता, शीर्ष स्थानको डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच पहिलो क्वालिफायर खेल हुनेछ। उक्त क्वालिफायरमा पराजित हुने टोलीसँग काठमाडौं र चितवनबीचको एलिमिनेटर खेलको विजेताले फाइनल प्रवेशका लागि खेल्नेछ।