भैरव रोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अगाडि, बजेट स्रोत टुङ्ग्याउने तयारी

Image

हेटौंडा / हेटौंडा ४ भैरव रोडमा वर्षायाममा हुने पानी जम्ने समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नविन सिग्देलले जानकारी दिनुभएको छ।

उहाँका अनुसार समस्या समाधानका लागि दुईवटा मुख्य कामलाई प्राथमिकतामा राखिएको छ। पहिलो, वर्षाको पानी सहज रूपमा बग्ने गरी उचित निकासको व्यवस्था गरिनेछ। दोस्रो, जिर्ण तथा बिग्रिएका भूमिगत ढलका चेम्बरहरूको पुनर्निर्माण तथा मर्मत गरी ढलको प्रवाहलाई पुनः सुचारु बनाइनेछ।

वडा अध्यक्ष सिग्देलले यी दुवै कामका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको बताउँदै आर्थिक वर्ष परिवर्तनसँगै बजेट स्रोत टुङ्ग्याउन केही समय लागेको उल्लेख गर्नुभयो। उहाँले स्रोत सुनिश्चित हुनेबित्तिकै आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी निर्माण कार्य अगाडि बढाइने जानकारी दिनुभयो।

उहाँले भैरव रोडको पानी जम्ने समस्या समाधानलाई प्राथमिकतामा राखिएको बताउँदै, “हामी चुपचाप छैनौँ, समस्या समाधानका लागि निरन्तर पहल गरिरहेका छौँ। बजेट स्रोत टुङ्ग्याएर आवश्यक प्रक्रिया पूरा गरी काम छिट्टै अघि बढाउनेछौँ,” भन्नुभयो।

वडा अध्यक्ष सिग्देलले स्थानीयवासीलाई केही समय धैर्य गर्न आग्रह गर्दै समस्या समाधानका लागि सबैको सहयोग र विश्वास आवश्यक रहेको बताउनुभयो।