टप एन्ड टी-२० सिरिज: घरेलु टोली एनटी स्ट्राइकविरुद्ध नेपाल ‘ए’ को पहिलो खेल आज

Image

काठमाडौँ । अस्ट्रेलियामा आयोजना भइरहेको प्रसिद्ध ‘टप एन्ड टी-२० सिरिज’ मा नेपाल ‘ए’ पुरुष राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो पहिलो खेल खेल्दैछ। डार्विनस्थित मरारा क्रिकेट मैदानमा हुने यस खेलमा नेपालले घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइक (एनटी स्ट्राइक) को सामना गर्नेछ। नेपाली समय अनुसार खेल आज दिउँसो २:१५ बजेदेखि सुरु हुनेछ।

नेपालले यस प्रतियोगितामा सहभागिता जनाउन लागेको यो दोस्रो पटक हो। यसअघि गत संस्करणमा नेपालको सिनियर टोलीले भाग लिएको थियो। गत वर्ष लिग चरणका ६ मध्ये ४ खेलमा हार र २ खेलमा मात्र जित निकालेको नेपाल यसपटक त्यो प्रदर्शनमा सुधार गर्दै अघिल्लो चरण पुग्ने लक्ष्यमा छ।

सिनियर टोलीका अनुभवी खेलाडीको साथ
नेपाल क्रिकेट सङ्घ (क्यान) ले टोलीलाई थप मजबुत बनाउन सिनियर टोलीबाट खेलिसकेका महत्त्वपूर्ण खेलाडीहरूलाई ‘ए’ टोलीमा समावेश गरी अस्ट्रेलिया पठाएको छ। टोलीमा कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल र गुलशनकुमार झाजस्ता विष्फोटक तथा अनुभवी खेलाडीहरू रहेका छन्। यीमध्ये धेरैजसो खेलाडीसँग गत संस्करणको टप एन्ड टी-२० सिरिज खेलेको अनुभव समेत छ।

पुरानो हारको बदला लिने अवसर
नेपाल र एनटी स्ट्राइकबीच यो दोस्रो भिडन्त हो। गत सिजनमा भएको खेलमा नेपाल एनटी स्ट्राइसँग ४२ रनले पराजित भएको थियो। यसपटक भने नेपाल ‘ए’ टोली सामु सो हारको बदला लिँदै प्रतियोगितामा सुखद सुरुआत गर्ने उत्कृष्ट अवसर रहनेछ ।