हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध नियन्त्रण अभियानअन्तर्गत विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको छ।
मनहरी–९ रजैयाबाट खैरो हेरोइनसहित हेटौँडा–१९ का अभिषेक थिङ, आकाश भुलुन र रोहित ढुंगाना पक्राउ परेका छन्। उनीहरूको साथबाट ४ ग्राम ८४० मिलिग्राम हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, हेटौँडा–१ चाइना क्वाटरस्थित उमेश थिङको घरबाट ३ ग्राम ८५० मिलिग्राम हेरोइन, डिजिटल तराजु र ११ हजार रुपैयाँ नगदसहित उमेश थिङ र बिमल श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीले श्रेष्ठले प्रयोग गर्ने स्कुटरसमेत नियन्त्रणमा लिएको छ।
यसैगरी, हेटौँडा–१० स्थित जिल्ला प्रहरी कार्यालय अगाडिबाट हेटौँडा–११ का २० वर्षीय श्रोहित थिङलाई ट्रामाडोल १० र नाइट्राजेपाम ६ ट्याब्लेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।















