काठमाडौँ । यसपालिको दसैँमा मौसम सामान्यतया घमाइलो रहने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। हाल सक्रिय पश्चिमी वायुको प्रभाव लामो समय नरहने भएकाले अर्को कुनै नयाँ मौसमी प्रणाली तत्काल विकसित नभए दसैँका समयमा ठूलो वर्षाको सम्भावना कम रहेको मौसमविद्को भनाइ छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार अहिलेको पश्चिमी वायुको प्रभाव लामो समयसम्म कायम रहने देखिँदैन। त्यसैले तत्काल अर्को मौसमी प्रणाली नआए यसपालिको दसैँमा मौसम घमाइलो हुने सम्भावना धेरै रहेको उनले बताएका छन्।
यद्यपि मौसमको प्रणाली परिवर्तनशील र केही अनिश्चित देखिएकाले अहिले नै दसैँसम्मको मौसमको ठ्याक्कै पूर्वानुमान गर्न कठिन रहेको पोखरेलले बताए। उनका अनुसार दसैँ नजिकिँदै जाँदा मौसमी अवस्थाको थप स्पष्ट चित्र आउनेछ।
यसपालिको दसैँ आउँदो आइतबार घटस्थापनादेखि सुरु हुँदैछ। केही दिनयता देशको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको प्रभाव देखिएको छ भने पश्चिमी क्षेत्रमा पश्चिमी वायु सक्रिय रहेको छ। पश्चिमी भूभागबाट मनसुन बाहिरिसकेको भए पनि मध्य र पूर्वी क्षेत्रबाट पनि केही दिनभित्रै मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
मनसुन बाहिरिएपछि पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावका कारण केही स्थानमा वर्षा हुन सक्ने भएकाले मौसम पूर्ण रूपमा सफा नै रहने निश्चित नहुने बताइएको छ। विशेषगरी दसैँका बेला ठूलो संख्यामा मानिसहरू घर फर्किने तथा लामो दूरीको यात्रा गर्ने भएकाले मौसमको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न मौसमविद् पोखरेलले सुझाव दिएका छन्।
उनले यात्रामा निस्कनुअघि आफ्नो गन्तव्य र बाटोको मौसमको अवस्था बुझेर तथा मौसमसम्बन्धी पछिल्लो जानकारी लिएर यात्रा गर्न आग्रह गरेका छन्। दसैँ नजिकिँदै जाँदा मौसम पूर्वानुमान महाशाखाले जारी गर्ने नियमित विवरण हेर्नसमेत आग्रह गरिएको छ।

















