यु १९ टोली क्याम्पमा व्यस्त, पहिलो खेल भारतसँग हुँदै!

Image

ओमानमा आयोजना हुने आगामी एसीसी पुरुष यु-१९ एसिया कप २०२६ का लागि पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण अहिले पोखरा रङ्गशालाको क्रिकेट मैदानमा तीव्र रूपमा चलिरहेको छ।

नेपाल प्रिमियर लिग (NPL) को सरगर्मीको व्यस्तताकै बीच क्यानले युवा टोलीलाई पोखरामा यो क्याम्प सञ्चालन गरेको हो।

यसै सन्दर्भमा युवा खेलाडीहरूको मनोबल बढाउन र क्याम्पको अवस्था बुझ्न नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह पोखरा पुग्नुभएको छ।

मैदानमै पुगेर उहाँले प्रशिक्षणको स्थलगत निरीक्षण गर्नुका साथै खेलाडी र मुख्य प्रशिक्षक वसन्त शाहीसँग आवश्यक सरसल्लाह गर्नुभएको छ।

उपाध्यक्ष सिंहले खेलाडीहरूलाई उपलब्ध गराइएका सेवा-सुविधाहरू, अभ्यास खेलको व्यवस्थापन र प्राविधिक तयारीको विस्तृत जानकारी लिनुभएको छ।

एसिया कप जस्तो प्रतिष्ठित मञ्चमा नेपालले देशको नाम चम्काउन सकोस् भन्दै क्यानले सेवा सुविधा र आवश्यक तयारीमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता उहाँले मैदानबाटै व्यक्त गर्नुभयो।

आगामी नोभेम्बर ५ देखि नोभेम्बर १४ सम्म ओमानको अल अमरातस्थित प्रसिद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्ड (टर्फ १ र टर्फ २) मा आयोजना हुने यस ५० ओभरको प्रतियोगितामा एसियाका शीर्ष ८ टोलीहरू सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ।

नेपाल बलियो समूह ‘A’ मा भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (UAE) सँगै रहेको छ भने समूह ‘B’ मा अफगानिस्तान, बंगलादेश, श्रीलंका र मलेसिया रहेका छन्।

नेपालले आफ्नो पहिलो खेल नोभेम्बर ६ मा भारत विरुद्ध, दोस्रो खेल नोभेम्बर ८ मा युएई विरुद्ध र तेस्रो खेल नोभेम्बर १० मा पाकिस्तान विरुद्ध खेल्ने तालिका छ।

दुवै समूहका शीर्ष २-२ टोलीहरू नोभेम्बर १२ मा हुने सेमिफाइनलमा प्रवेश गर्नेछन् भने फाइनल खेल नोभेम्बर १४ मा खेलाइनेछ।

यो एसिया कप नेपाली क्रिकेटको भविष्यका लागि अत्यधिक महत्त्वपूर्ण छ किनभने भारत र पाकिस्तान जस्ता विश्व क्रिकेटका पावरहाउस टोलीहरूसँग खेल्न पाउनु हाम्रा युवा खेलाडीहरूका लागि एक्सपोजर र अनुभवको हिसाबले ऐतिहासिक अवसर हो, जसले उनीहरूलाई सिधै सिनियर राष्ट्रिय टोलीको ढोका ढकढकाउने बाटो खोल्दछ।

यो बन्द प्रशिक्षणको सबैभन्दा सुखद र बलियो पक्ष भनेकै मंसिरमा हुने नेपाल प्रिमियर लिग (NPL) का विभिन्न महँगा फ्रेन्चाइज टोलीहरूमा आबद्ध भइसकेका प्रतिभावान खेलाडीहरू यस यु-१९ राष्ट्रिय टोलीको क्याम्पमा हुनु हो।

एनपीएलमा आबद्ध भई राष्ट्रिय क्रिकेटमा आफ्नो बलियो छाप छाडिसकेका र हाल यो राष्ट्रिय यु-१९ क्याम्पमा रहेका प्रमुख खेलाडीहरूमा प्रसिद्ध जैसी, सुशील रावल, शुभम खनाल, वंश क्षेत्री, निरज यादव, शिवांश बजगाईं, रोशन शाही र नितेश पटेल जस्ता युवा स्टारहरू छन्।

अहिले मुख्य प्रशिक्षक वसन्त शाहीको रेखदेखमा प्रारम्भिक २८ सदस्यीय टोलीलाई ‘नेपाल यू-१९ ब्लु’ र ‘नेपाल यू-१९ रेड’ मा विभाजन गरी ४ वटा अभ्यास खेलहरू खेलाइँदैछ।

यही अभ्यास खेलहरूको प्रदर्शन र एनपीएलमा देखिएको लयलाई समेत आधार मानेर आज-भोलि भित्रै ओमान जाने अन्तिम १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको आधिकारिक घोषणा क्यानले गर्दैछ।