हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा नवौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी मङ्सिर ८ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
बागमती खेलकुद विकास समितिको आयोजना तथा बागमती गाउँपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन हुन लागेको हो। बागमती गाउँपालिका–४, झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा हुने प्रतियोगिताबारे शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजकले जानकारी गराएको हो।
बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङका अनुसार प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई एक लाख एक हजार १११ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ।
















