मकवानपुरमा डिजेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा चालकको मृत्यु

Image

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–५ तिनतल्ले फास्ट्याक नजिक डिजेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडाबाट हात्तीसुँडेतर्फ जाँदै गरेको ना.६ ख २९४९ नम्बरको डिजेल लोड ट्याङ्कर बिहीबार साँझ करिब ७:३० बजे दुर्घटनामा परेको हो।

दुर्घटनापछि ट्याङ्कर सडकको बायाँतर्फ पल्टिएको अवस्थामा फेला परेको थियो। ट्याङ्करमा चालक च्यापिएको सूचना प्राप्त भएपछि गरगरे अस्थायी प्रहरी पोस्टबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय पशुपतिनगर र फापरबारीबाट समेत प्रहरी टोली खटिएको थियो।
प्रहरीका अनुसार राति करिब १० बजे ट्याङ्करमा च्यापिएका चालकलाई निकाल्दा मृत्यु भइसकेको थियो।

मृत्यु हुनेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ निवासी अन्दाजी ४० वर्षीय रमेश कुमार रायमाझी रहेका छन्। उनको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।