हेटौँडा । नेपाली कांग्रेस हेटौँडा उपमहानगरपालिका–११ नम्बर वडा समितिले तिहार तथा छठ पर्वको अवसरमा औपचारिक चियापान कार्यक्रमको सट्टा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै मामाघर नेपाललाई सहयोग गरेको छ।
वडा समितिले हेटौँडा–११ डाङ्डुङ्गेस्थित सडक बालबालिकाको संरक्षण तथा व्यवस्थापनमा क्रियाशील संस्था मामाघर नेपाल पुगेर शुभकामना आदानप्रदानसँगै आर्थिक तथा जिन्सी सहयोग हस्तान्तरण गरेको हो।
वडा समिति सभापति विकास नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा समितिका ६० जना सदस्यको सहभागिता रहेको सभापति नेपालले जानकारी दिए।














