हेटौंडा । हेटौंडाका विभिन्न स्वास्थ्य प्रयोगशालामा सेवाग्राहीले भोग्नुपरेका समस्या र लापरवाहीका गुनासो बढेको भन्दै सामाजिक अभियन्ता विशाल राज महतले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ।
महतका अनुसार प्रयोगशालाबाट प्राप्त रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठ्ने गरेको, शुल्क बुझाउँदा बिल नदिने तथा गुनासो गर्ने सेवाग्राहीलाई पैसा फिर्ता गरेर घटना सामसुम पार्ने प्रयास हुने गरेको गुनासो आएको छ।
उहाँले हेटौंडाका सबै स्वास्थ्य प्रयोगशालाको प्रभावकारी अनुगमन गरी परीक्षणको गुणस्तर, रिपोर्टको विश्वसनीयता र शुल्कको पारदर्शिता सुनिश्चित गर्न माग गर्नुभएको छ।
हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य शाखाले अनुगमन गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै महतले प्रतिबद्धता कार्यान्वयन गरी लापरवाही पुष्टि भए कानुनअनुसार कारबाही गर्नसमेत आग्रह गर्नुभएको छ।
‘स्वास्थ्य सेवा व्यापार हुन सक्छ, तर नागरिकको स्वास्थ्य खेलौना होइन। अनुगमनको प्रतिबद्धता मात्र होइन, परिणाम चाहिन्छ,’ महतले भन्नुभएको छ।
















