काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार सम्पन्न रोमाञ्चक खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई ४ विकेटले पराजित गरेको छ। यो हारसँगै विराटनगर किङ्स प्रतियोगिताको प्लेअफ दौडबाट औपचारिक रूपमै बाहिरिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको १६७ रनको विजयी लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
लुम्बिनीको जितमा आसिफ शेख र डी आर्की सर्टले समान ४५–४५ रनको महत्वपूर्ण योगदान दिए। आसिफले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरे भने सर्टले ३८ बलमा ३ चौका र १ छक्का हिर्काए। यस्तै, मध्यक्रममा आक्रामक ब्याटिङ गरेका सन्दीप जोराले मात्र ११ बलमा ३ छक्का र १ चौकाको मद्दतले २५ रन जोड्दै टोलीलाई जितको नजिक पुर्याए। अली शेखले १९ बलमा २७ रनको अविजित योगदान दिए भने कप्तान रोहितकुमार पौडेलले ९ रन बनाए।
विराटनगरका बलर अपराजित पौडेलले १ ओभरमा ५ रन खर्चेर २ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्। रूपेशकुमार सिंह र चरिथ असलंकाले १–१ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर किङ्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। विराटनगरका लागि चरिथ असलंकाले सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४३ बलको सामना गर्दै ६ छक्का र १ चौका प्रहार गरे। त्यस्तै, शुभम रन्जानेले २४ बलमा ४ चौकासहित ३१ रन जोडे भने ओपनर इमरान शेखले २४ रन तथा लोकेश बमले १५ रन बनाए।
बलिङतर्फ लुम्बिनीका किशोर महतोले किफायती बलिङ गर्दै ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए। अभिषेक गौतम र रुबेन ट्रम्पलम्यानले १–१ विकेट लिए।
यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनीले यो जितसँगै अङ्क तालिकामा आफ्नो स्थिति थप मजबुत बनाएको छ भने ‘गर या मर’ को दबाबमा रहेको विराटनगरको यात्रा लिग चरणमै टुंगिएको छ।
















