काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गतको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससामु १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०५ रन बनायो।
सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो । पारीको पहिलो बलमै ओपनर जर्ज मुन्सी शून्य रनमा पभेलियन फर्किए। त्यसपछि थानुका डबारे र विकेटकिपर विनोद भण्डारी पनि समान ३–३ रनमा आउट हुँदा सुदूरपश्चिम ८ रनमै ३ विकेट गुमाएर गम्भीर संकटमा परेको थियो।
तर, दबाबपूर्ण अवस्थामा कप्तान दीपेन्द्र सिंह ऐरी (‘टाइगर’) ले जिम्मेवारीपूर्ण पारी खेल्दै टोलीको इनिङ्स उकासे । उनले ५१ बलको सामना गर्दै ३ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ५२ रनको अर्धशतकीय योगदान दिए। ऐरीलाई इशान पाण्डेले ३३ बलमा ३ चौकासहित २७ रन बनाएर राम्रो साथ दिए। अन्य ब्याटरमा स्कट कुगेलेनले ६, आरिफ शेखले ४, अनिल खरेलले अविजित २ र थारिन्दु रत्नायकेले १ रन जोडे।
बलिङतर्फ लुम्बिनी लायन्सका रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान २–२ विकेट लिए। ट्रम्पलम्यानले ४ ओभरमा मात्र १४ रन खर्चिए भने मल्लले ४ ओभरमा २७ रन दिए। यस्तै, अभिषेक गौतमले ४ ओभरमा ११ रन खर्चेर १ विकेट तथा किशोर महतोले १ विकेट हात पारे।
यस खेलको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।















