सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा, दीपेन्द्रको अर्धशतक व्यर्थ

Image

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै साविक विजेता लुम्बिनी लायन्स प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

टस जितेर पहिले बलिङ रोजेको लुम्बिनीले घातक बलिङ गर्दै सुदूरपश्चिमलाई निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०५ रनमै सीमित पारेको थियो।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५२ रन बनाए भने ईशान पाण्डेले २७ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। लुम्बिनीका लागि रुभेन ट्रम्पेलम्यान र शेर मल्लले समान २–२ विकेट लिए भने अभिषेक गौतम र किशोर महतोले १–१ विकेट हात पारे।

१०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १३ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा विकेटकिपर ब्याट्समेन निकोलस डिकवेलाले ३७ बलमा ७ चौका र २ छक्काको मद्दतमा अविजित ५९ रनको उत्कृष्ट इनिङ खेले। त्यस्तै, कप्तान रोहित पौडेलले २१ रन बनाए।

सुदूरपश्चिमका लागि थरिन्दु रत्नायकेले २ तथा स्कट कुगेलेइन र हेमन्त धामीले १–१ विकेट लिए पनि टोलीलाई हारबाट बचाउन सकेनन्।

यो जितसँगै लुम्बिनी सिधै फाइनलमा पुगेको छ भने पराजित सुदूरपश्चिमले फाइनल प्रवेशका लागि इलिमिनेटर खेलको विजेता टिमसँग दोस्रो क्वालिफायर खेल्नेछ।