फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढ्यो, मैदान सम्याउने र ब्लक बनाउने काम सुरु हुँदै

Image

धनगढी । सुदूरपश्चिम प्रदेशको खेलकुद क्षेत्रको विकास र समग्र नेपाली क्रिकेटको भविष्यसँग जोडिएको बहुप्रतिक्षित ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। लामो समयको चर्चा र प्रतीक्षापछि रंगशाला निर्माणका लागि बोलपत्र (टेन्डर) आह्वान गर्दै ठेक्का प्रक्रिया अगाडि बढाइएको हो।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रंगशाला निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिएका हुन्। नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल चलिरहेकै दिन सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै मन्त्री लम्सालले प्रारम्भिक चरणका पूर्वाधार निर्माणका काम सुरु गर्न लागिएको स्पष्ट पारेका छन्।

पहिलो चरणको ठेक्काअन्तर्गत मुख्य रूपमा खेल मैदानको आधारभूत संरचना तयार पारिने जनाइएको छ। जसअनुसार हालको जमिनको सतहमा माटो भर्ने, जमिन सम्याउने (लेभलिङ गर्ने) तथा प्यारापिटको अगाडिको भागमा ब्लक निर्माण गर्ने लगायतका प्रारम्भिक कार्यहरू तत्काल सुरु हुनेछन्।

प्रारम्भिक कामबारे जानकारी दिँदै मन्त्री लम्सालले सामाजिक सञ्जालमा लेखेका छन्, “यस ठेक्काअन्तर्गत मैदान निर्माणका लागि हालको जमिनको सतहबाट माटो भर्ने तथा जमिन सम्याउने, प्यारापिटको अगाडिको भागमा ब्लक निर्माण गर्ने लगायतका काम सुरु हुनेछन्।”

फाप्ला रंगशालालाई सुदूरपश्चिम प्रदेशको मात्र नभई समग्र नेपाली क्रिकेटकै मेरुदण्डका रूपमा हेरिएको छ। रंगशाला निर्माण सम्पन्न भएपछि धनगढीमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ठूला क्रिकेट प्रतियोगिताहरू आयोजना गर्ने बलियो आधार तयार हुनेछ।

यस परियोजनाले स्थानीय स्तरमा लुकेर रहेका क्रिकेट प्रतिभाहरूलाई आफ्नै प्रदेशमा उच्चस्तरको अभ्यास र खेल वातावरण उपलब्ध गराउने विश्वास लिइएको छ। साथै, ठूला प्रतियोगिताहरू आयोजना हुँदा स्वदेशी तथा विदेशी खेलाडी, अफिसियल र दर्शकहरूको आवागमन बढ्ने भएकाले सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन, होटल व्यवसाय, यातायात र समग्र स्थानीय अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ।

आयोजनालाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाइएको उल्लेख गर्दै मन्त्री लम्सालले थपेका छन्, “सुदूरपश्चिमवासीको सपना र राष्ट्रिय महत्त्व बोकेको यस आयोजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउँदै खेल पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा समग्र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने लक्ष्य राखेका छौं।”