हेटौँडा । लागुऔषध दुर्व्यसनमा फसेका व्यक्तिलाई उपचार तथा पुनर्स्थापनासँगै सीप विकास, उत्पादन र रोजगारीमा जोड्ने उद्देश्यले हेटौँडा उपमहानगरपालिकामा एकीकृत लागुऔषध पुनर्स्थापना तथा रोजगार केन्द्र स्थापना गर्न सामाजिक अभियन्ता विशाल राज महतले प्रस्ताव गरेका छन्।
महतले लागुऔषध दुर्व्यसनलाई व्यक्ति, परिवार र समाजको गम्भीर समस्याका रूपमा उल्लेख गर्दै नियन्त्रण, पक्राउ र उपचारमा मात्र सीमित नभई दुर्व्यसनबाट बाहिर आएका व्यक्तिलाई आत्मनिर्भर बनाउने दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन्।
उनका अनुसार हेटौँडा उपमहानगरपालिकाले आफ्नै लगानी तथा व्यवस्थापनमा वा सम्बन्धित निकायसँग साझेदारी गरी उपचार, पुनर्स्थापना, सीप विकास, उत्पादन र रोजगारीलाई एकै ठाउँमा जोड्ने केन्द्र सञ्चालन गर्न सक्छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा लागूऔषध प्रयोगकर्ताहरूका लागि उपचार तथा पुनर्स्थापना केन्द्र सञ्चालन निर्देशिका, २०७५ लगायतका कानुनी व्यवस्थाले स्थानीय तहको लगानी, व्यवस्थापन तथा साझेदारीमा यस्ता कार्यक्रम सञ्चालन गर्ने आधार प्रदान गरेको महतको भनाइ छ। हेटौँडा उपमहानगरपालिकाको उद्योग दर्ता, सञ्चालन, व्यवस्थापन र नियमनसम्बन्धी ऐन, २०८२ लाई समेत स्थानीय उत्पादन तथा उद्योग सञ्चालनका लागि आधार बनाउन सकिने उनले उल्लेख गरेका छन्।
महतले पहिलो चरणमा उपमहानगरपालिकाका १९ वटै वडाबाट लागुऔषध प्रयोगकर्ताको तथ्याङ्क संकलन, उनीहरूको स्वास्थ्य, पारिवारिक तथा आर्थिक अवस्थाको अध्ययन गरी आवश्यकताअनुसार उपचार र पुनर्स्थापनाको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्। आर्थिक रूपमा विपन्न व्यक्तिलाई निःशुल्क तथा अन्यलाई आर्थिक क्षमताअनुसार शुल्क निर्धारण गरी सेवा उपलब्ध गराउन सकिने उनको प्रस्ताव छ।
उपचारपछि पुनः पुरानै वातावरणमा फर्किनुपर्ने अवस्था रोक्न केन्द्रमै सिलाइकटाइ, फर्निचर निर्माण, कृषि, पशुपालन, खाद्य प्रशोधन, साबुन, अगरबत्ती, हस्तकला लगायतका उत्पादनमूलक सीप सिकाउने र स्वास्थ्य अवस्था तथा इच्छाअनुसार काममा सहभागी गराउने व्यवस्था गर्नुपर्ने उनले बताएका छन्। उत्पादनमा संलग्न व्यक्तिलाई उचित पारिश्रमिक उपलब्ध गराउने प्रणालीसमेत विकास गर्नुपर्ने उनको जोड छ।
हेटौँडामा रहेका उद्योग, व्यवसाय तथा उत्पादनमूलक संस्थासँग सहकार्य गरी सीप प्राप्त व्यक्तिलाई रोजगारीमा जोड्न सकिने महतको धारणा छ। केन्द्रभित्रै उत्पादन इकाइ सञ्चालन गर्नुका साथै स्थानीय उद्योग तथा व्यवसायसँग रोजगारी साझेदारी सम्झौता गरेर पुनर्स्थापित व्यक्तिको आर्थिक आत्मनिर्भरता सुनिश्चित गर्न सकिने उनले बताएका छन्।
यस्तो कार्यक्रम सञ्चालन भए उपचार तथा पुनर्स्थापनाको अवसर, परिवारको आर्थिक तथा मानसिक बोझमा कमी, युवामा सीप र आत्मविश्वास विकास, स्थानीय उत्पादन तथा रोजगारी सिर्जना र सामाजिक समस्याको न्यूनीकरणमा सहयोग पुग्ने महतको विश्वास छ।
‘स्थानीय सरकारले विकासका नाममा भौतिक संरचनामा मात्र लगानी गरेर पुग्दैन, समस्यामा परेका नागरिकलाई पुनः जीवनमा फर्काउने काम पनि विकासकै महत्त्वपूर्ण हिस्सा हो,’ महतले आफ्नो प्रस्तावमा उल्लेख गरेका छन्।
उनले उपमहानगरपालिकालाई सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), आवश्यक कानुनी प्रक्रिया, स्वीकृति तथा बजेट व्यवस्थापन गरी कार्यक्रम चरणबद्ध रूपमा अघि बढाउन आग्रह गरेका छन्।
लागुऔषध प्रयोगकर्तालाई समाजको बोझ वा अपराधीका रूपमा मात्र नभई उचित उपचार, अवसर र सहयोग पाए पुनः सम्मानित तथा उत्पादनशील जीवन बिताउन सक्ने नागरिकका रूपमा हेर्नुपर्ने उल्लेख गर्दै महतले उपचारबाट सुधार, सीपबाट आत्मविश्वास, उत्पादनबाट आम्दानी र रोजगारीबाट सम्मानित जीवन निर्माण गर्ने अवधारणालाई आत्मनिर्भर तथा स्वस्थ समाजको आधार बनाउनुपर्ने बताएका छन्।

















