राष्ट्रियसभा निर्वाचनमा विजयी कसले कति मत पाए ? (अन्तिम नतिजासहित)

Image

काठमाडौं । राष्ट्रिय सभाको बुधबार भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। सातै प्रदेशमा गरी १९ पदका लागि भएको निर्वाचनमा ४३ जना प्रतिस्पर्धी थिए।

निर्वाचनमा सत्ता गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा)ले साझा उम्मेदवार उठाएका थिए। त्यस्तै, मधेश प्रदेशमा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धन गरेका थिए।

१९ मध्ये १८ पदमा सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। बाँकी एक ठाउँमा एमालेका उम्मेदवार विजयी भएका हुन्। प्रदेश १ मा ‘अपांगता भएको व्यक्ति वा अल्पसंख्यक’ क्लस्टरअन्तर्गत भएको प्रतिस्पर्धामा एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पाले जित निकालेका हुन्।

गठबन्धनका १८ मध्ये कांग्रेसले ६, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले ५/५, जसपा र राजमोले १/१ पदमा जित निकालेका हुन्। राजमो पहिलोपटक राष्ट्रिय सभामा पुगेको हो।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार, प्रदेश १ मा महिलाबाट जयन्तीदेवी राई, अपांगता/अल्पसंख्यकबाट सोनाम गेल्जेन शेर्पा र अन्यबाट गोपालकुमार बस्नेत विजयी भएका छन्। त्यस्तै, मधेश प्रदेशमा महिलाबाट उर्मिला अर्याल र अन्यबाट मोहम्मद खालिद विजयी भएका छन्। बागमती प्रदेशमा महिलाबाट गोमादेवी तिमिल्सिना र अन्यबाट कृष्णप्रसाद पौडेल विजयी भएका छन्। गण्डकी प्रदेशमा महिलाबाट कमला पन्त, दलितबाट भुवनबहादुर सुनार र अन्यबाट सुरेशकुमार आलेमगर विजयी भएका छन्।

लुम्बिनी प्रदेशमा महिलाबाट राजेन्द्रलक्ष्मी गैरे, दलितबाट तुलप्रसाद विश्वकर्मा र अन्यबाट युवराज शर्मा विजयी भएका छन्। कर्णाली प्रदेशमा महिलाबाट दुर्गा गुरुङ, अपांगता/अल्पसंख्यकबाट नरबहादुर विष्ट र अन्यबाट उदयबहादुर बोहरा विजयी भएका छन्। सुदूरपश्चिम प्रदेशमा महिलाबाट मदनकुमारी शाह (गरिमा), दलितबाट जगतबहादुर पार्की र अन्यबाट नारायणदत्त मिश्र विजयी भएका छन्।

आगामी फागुन २० पछि एमालेका ८, कांग्रेसका ३, माओवादी केन्द्रका ४ र एकीकृत समाजवादीका ४ जनाको पदावधि सकिन्छ। त्यस्तै राष्ट्रपतिबाट मनोनीत एक जना रामनारायण बिडारीको पनि पदावधि सकिन्छ। उनी माओवादीनिकट हुन्। उनको स्थानमा कसलाई मनोनीत गर्ने भन्नेमा गठबन्धनमा सहमति बनिसकेको छैन।

आज भएको निर्वाचनको मतपरिणामअनुसार, फागुन २० पछि राष्ट्रिय सभामा एमालेका १७ जना, माओवादी केन्द्रका १५ जना, नेपाली कांग्रेसका १० जना, एकीकृत समाजवादीका ८ जना, जसपाका ३ जना, लोसपाका १ जना, राजमोका १ जना, स्वतन्त्र १ जना र राष्ट्रपतिबाट मनोनीत ३ जना हुने छन्।

स्वतन्त्र सांसद खिमलाल देवकोटालाई माधवकुमार नेपालले तत्कालीन विपक्षी गठबन्धनको आडमा जिताउन भूमिका खेलेका थिए। त्यसैले उनलाई एकीकृत समाजवादीनिकट मानिन्छ।

राष्ट्रपतिबाट मनोनीत तीनै जना विमला राई पौडेल, रामनारायण बिडारी र वामदेव गौतमलाई केपी ओली नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो। तर, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र एमाले पनि विभाजन भइसकेको छ। बिडारी पहिलेदेखि नै माओवादी केन्द्रनिकट थिए। गौतम पनि एमालेबाट अलग्गिसकेका छन्। अब राई मात्रै एमालेनिकट छिन्। उनी राष्ट्रपति विद्यादेवी भण्डारीको निकट मानिन्छिन्।

राष्ट्रपतिबाट मनोनीत हुने तीन जनामध्ये कांग्रेसबाट प्रतिनिधित्व भएको छैन। २०७४ सालमा त्यतिबेला प्रधानमन्त्री रहेका शेरबहादुर देउवाले गरेका तीन जनाको सिफारिस राष्ट्रपतिले अनुमोदन नगर्दा मनोनीत हुन सकेका थिएनन्। पछि केपी ओली नेतृत्वमा सरकार बनेपछि देउवा सरकारको सिफारिस खारेज गरेर एमाले र माओवादी केन्द्रले भागबण्डा गरेर नयाँ सिफारिस/मनोनीत गरेका थिए।

त्यसैले बिडारीको स्थानमा कांग्रेसले आफू निकटकालाई मनोनीत गराउने सम्भावना छ। राष्ट्रिय सभामा आफ्नो दलको कममात्रै उपस्थिति रहेकोले बिडारीको ठाउँमा आफूनिकटलाई अवसर दिनुपर्ने उसको तर्क हुनसक्छ।