जेठभित्रै स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धनको सरकारलाई सुझाव (भिडिओ)

Image

काठमाडौं । स्थानीय तहको चुनाव निर्धारित मितिमै गर्ने सत्तारूढ गठबन्धनले निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्तारूढ गठबन्धनको बैठकले जेठभित्र चुनाव गर्न सरकारलाई सुझाव दिएको सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै मन्त्री कार्कीले भने, “स्थानीय तहको निर्वाचन जेठ महीनाभित्र सम्पन्न गर्नका लागि पाँच दलीय गठबन्धनको बैठकले प्रधानमन्त्री मार्फत सरकारलाई सुझाव दिएको छ।”

सत्तारुढ गठबन्धनले दिएको सुझावको आधारमा सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर चुनावको मिति घोषणा गर्ने कार्कीले बताए। “अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर मिति तोक्नेछ,” मन्त्री कार्कीले भने।

त्यस्तै, संविधानसँग बाझिएको निर्वाचन सम्बन्धी ऐन संशोधन गर्न पनि गठबन्धनको बैठकले सुझाव दिएको छ। संविधानमा ६ महीनाभित्र गाउँ वा नगरसभा गठन गर्नुपर्ने व्यवस्था छ भने ऐनमा स्थानीय तहका जनप्रतिनिधिको पदावधि सकिनुभन्दा दुई महीनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ।