आईपीओको आवेदनमा नयाँ ऐतिहासिक रेकर्ड बन्याे, जाल्पा लघुवित्तले ताेड्याे अन्य सबैकाे रेकर्ड

Image

काठमाण्डाैं । आईपीओको आवेदनकाे ईतिहासमा नयाँ रेकर्ड कायम भएकाे छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गते, शुक्रबारदेखि आज (माघ २५ गते, मंगलबार) सम्म निष्कासन गरेकाे आईपोओमा २७ लाख बढीले आवेदन दिएका छन् ।

निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार मंगलबार ५ बजेसम्ममा २७ लाख ४ हजार जना आवेदकहरूले ३ करोड ३० लाख ७२ हजार ९१० कित्ताका लागि आवेदन दिएका छन् ।

यो आवेदनकाे संख्या सर्वसाधारणहरूका लागि माग गरिएको भन्दा ६७ गुणा भन्दा बढी हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे ।

जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिन पाउँथे।

सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परिसकेकोले माघ २५ गतेसम्म मात्रै आवेदन दिन सकिनेछन् ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्। हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड पुग्नेछ।