काठमाडौं । रविकुमार पासवानको दुई गोलको मद्दतमा नेपाल पुलिस क्लबले बुधबार च्यासल युथ क्लबलाई २-१ ले पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ ।
दशरथ रंगशालामा भएको खेलमा रविले दुवै हाफमा एक-एक गोल गरे । च्यासलका लागि विदेशी खेलाडी माउसा अबागानाले एक गोल फर्काए । च्यासलको १९ खेलाडीमा कोभिड-१९ संक्रमण देखिएपछि गत माघ २ गते तय भएको खेल स्थगित भएको थियो । सोही खेल बुधबार खेलाइएको हो ।
खेलको ३७ औं मिनेटमा निरकुमार राईको पासमा रविकुमार पासवानले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।
५३ औं मिनेटमा पेनाल्टीमार्फत च्यासलले बराबरी गोल फर्काएको थियो । पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्तौलालाई फाउल गरेपछि च्यासलले पेनाल्टी पाएको थियो र त्यसमा माउसा अबागानाले गोल गरेका हुन् ।
७० औं मिनेट रवि पासवानले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले पुनस् अग्रता लियो ।
त्यसपछि पनि च्यासलले खेल बराबरी गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन । च्यासलका अभिषेक लिम्बु दुई अवसरमा चुके । उनको एउटा प्रहार बारमा लागेको थियो । यस्तै वैकल्पिक खेलाडी कर्ण लिम्बुले पनि गोलको एउटा अवसर गुमाए ।
लिगमा दोस्रो जितपछि ९ खेलबाट १० अंक जोडेर पुलिस अंक तालिकामा एक स्थान सुधार गर्दै दशौं स्थानमा उक्लेको छ ।
च्यासल भने यो हारपछि रेलिगेसनको दबावमा परेको छ । उसले ९ खेलबाट ५ अंक मात्र जोड्दै १३ औं स्थानमा छ ।
पुलिसका प्रशिक्षक अनन्तराज थापाले आवश्यक ३ अंक जोड्न सफल भएको बताए । ‘हामीलाई जसरी पनि ३ अंक चाहिन्थ्यो, त्यो ल्यायौँ । पहिलो हाफ राम्रो भयो र गोल पनि भयो’ उनले भने ।
बुधबारको खेलपछि लिगका नवौँ चरणका खेलहरु सकिएका छन् । आगामी शुक्रबारदेखि दशौँ चरणका खेलहरु हुनेछन् ।














