ऋणभन्दा बढी सम्पत्ति छ सबैलाई तिर्छु, ‘भाग्यो’ भन्दा दु:ख लाग्यो; अमित अग्रवाल

Image

काठमाडौं । व्यवसायी अमित अग्रवालले आफूले लिएको ऋण बराबर सम्पत्ति भएकाले सबैलाई तिर्ने बताएका छन् । कोडिभका कारण मदिरा व्यवसाय करिब ८ महिना बन्दा हुँदाको असरका कारण आफूहरू समस्यामा परेको भएपनि सबैलाई ऋण तिर्ने उनको भनाइ छ ।

उनी एलायन्स डिस्ट्रिप्यूटर्स प्रा.लि, ग्रिनलाइन सेन्टर प्रा.लि., अमि अभि स्टोरका सञ्चालक हुन् ।

व्यावसायिक कारोबार गर्ने सिलसिलामा विभिन्न बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर कारोबार गर्दै आएका उनले बैंकको साँवा तथा व्याज भुक्तानी गरिरहेको तर कोडिभका कारण व्यवसायमा मन्दी आउँदा निकै तनावमा रहेको बताए । उनले कोभिडका कारण बजारबाट उठ्नुपर्ने १८ करोड रुपैयाँ उठ्न बाँकी रहेको पनि बताए ।

“बैंक, व्यक्तिगत रूपमासमेत गर्दा करिब १०० करोड ऋण तिर्न बाँकी छ । हाम्रो सम्पत्ति १०० करोड भन्दा बढी छ,” उनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा भने, “त्यसैले २ कोठाको भाडामा बसेर भएपनि भएको ऋण तिर्छौं ।”

उनले छिट्टै व्यवसायले निरन्तरता पाउने पनि विश्वास व्यक्त गरे ।

विभिन्न ५ वटा बैंकबाट लिएको ऋणको सावाँ र किस्ता तिर्न ढिलाइ हुँदा एउटा बैंकले पसलमा ताला लगाइदिएपछि बढी तनावको अवस्था सिर्जना भएको उनले बताए । उनले ‘बैंकको ऋण नतिरी भाग्यो’ भन्ने खालका समाचारले आफूलाई दु:खी बनाएको पनि बताए ।

“कोभिडका कारण सरकारले मदिराजन्य व्यवसायमा लामो समयसम्म रोक लगाएता पनि ऋणको किस्ता नियमित गर्ने योजना रहेको अवस्थामा सञ्चालनमा रहेका कम्पनीका गोदाम पसलहरूसमेत बैंकले तालाबन्दी गरेपछि आम्दानीको स्रोत बन्द भएपछि मेरो परिवार अनपेक्षित परिस्थितिले गर्दा डिप्रेसन तथा मानसिक तनावमा रहँदै आएकोमा सो को उपचारार्थ देशबाहिर गएको अवस्थामा बैंकहरूको सम्पर्कविहीन भएको भनी आएका समाचारले मेरो परिवारलाई अत्यन्त दुखित बनायो,” उनले भने ।