Khabar Board
Flash logo up side
flash header

मनिष डाँगी एक्काशि खेलमैदानमै ढलेपछि…

Nirbachan m

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार साविक विजेता मछिन्द्र फुटबल क्लबले च्यासल युथ क्लबविरूद्धको खेलको पहिलो हाफमै २-० ले अग्रता लिएको थियो।

मछिन्द्रका लागि विमल घर्तिमगर र सुनील बलले गोल गरेका थिए। मछिन्द्रको अग्रता दोब्बर पारेका सुनीलको स्थानमा ६१ मिनेटमा मनिष डाँगी मैदान छिरे।

यही वर्षको सुरूमा राष्ट्रिय टिममा डेब्यू गरेकै खेलमा गोल गरेका २० वर्षीय मनिषलाई मछिन्द्रले यसै सिजनदेखि भित्र्याएको थियो।

१०औं चरणको खेलमा दोस्रो हाफमा मैदान छिरेका मनिष चार मिनेटपछि एक्कासी मैदानमै बेहोस भए। ६५ मिनेटमा च्यासलका यान्निक केट्चासँग बल हेड गर्ने क्रममा ठोक्किएपछि मनिष मैदानमै ढलेका थिए।

त्यसपछि नजिक रहेका खेलाडीले आत्तिदै स्वास्थ्यकर्मी बोलाएका थिए। रेफ्रीले पनि तत्काल मेडिकल टिमलाई मैदानमा बोलाएका थिए। त्यतिबेला मैदानमा रहेका दुवै खेलाडीहरू निकै आत्तिएको देखिएको थियो। मछिन्द्रका कप्तान सुजल श्रेष्ठ ठाउको समातेर भुइँतिर हेर्दै निकै बिक्षिप्त बनेका थिए।

मैदानभित्रै एम्बुलेन्स पुर्‍याइएको थियो। मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ र फरवार्ड अभिषेक रिजालले स्ट्रेचर निकालेर मनिष लडेको स्थानसम्म लगेका थिए।

Center article

त्यतिबेलसम्म खेलाडीहरू डाक्टर खोजिरहेका थिए। मैदानमा उपलब्ध स्वास्थ्यकर्मीले मैदानमै ६ मिनेट उपचार गरेपछि एम्बुलेन्समा हालेर नजिकैको ब्लुक्रस अस्पतालमा लगिएको थियो।

त्यो ६ मिनेट दशरथ रंगशालाको माहोल निकै भावुक देखिएको थियो। मैदानमा रहेका सबै खेलाडी प्रार्थना गरिरहेका थिए। ब्लुक्रस अस्पतालमा उपचार गराइरहेका मनिष अहिले भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

८ मिनेट रोकिएको खेलमा मनिषको स्थानमा उत्सव राई मैदान छिरेपछि सुचारू गरिएको थियो। खेल मछिन्द्रले २-० ले जित्यो। जितसँगै १० खेलबाट २६ अंक जोडेको मछिन्द्रले उपाधि रक्षा अभियान बलियो बनाएको छ।

खेलको प्लेयर अफ दि म्याच भएका विमलले आफ्नो ट्रफी मनिषलाई समर्पण गरेका थिए। उनले मछिन्द्रको जित भन्दा पनि आफूलाई मनिष घाइते भएकाले दु:ख लागेको बताएका थिए।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.