कैलाली । सुदूरपश्चिम प्रदेशसभाका सचिव रामसिंह धामीले राजीनामा दिएका छन् । उनले सभामुख अर्जुनबहादुर थापासमक्ष दिएको राजीनामा आइतबार स्वीकृत भएको छ।
उमेर हदमा रहेको कैफियत बाहिरिएपछि धामीले राजीनामा दिएको बताएका छन। धामीले पेस गरेको नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्म मिति फरक-फरक पाइएपछि धामीको नियुक्ति नै गैरकानुनी भएको भन्दै विवाद उत्पन्न भएको थियो । धामीले आफ्नो उमेरका बारेमा प्रश्न उठेकाले विवादमा रही जागिरमा बसिरहन उचित नलागेकोले सभामुख थापासँग परामर्शपछि राजीनामा दिएको बताएका छन् ।
सचिव धामीले पेस गरेको शैक्षिक प्रमाणपत्रमा जन्ममिती २०१६ फागुन २९ रहेको छ भने नागरिकतामा जन्ममिती पुरै नखुलाई २०३३ सालमा १८ वर्ष उल्लेख गरिएको छ। प्रदेशसभा सचिवमा नियुक्त हुने कानुन प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको प्रावधानमा ४५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । तर, नागरिकता अनुसार धामी नियुक्त हुनेबेला नै ६० वर्ष उमेर कटिसकेको देखिएको छ। धामी ०७६ जेठ २८ गते सचीवमा नियुक्त भएका थिए।














