करण केसीले टी-२० विश्वकप छनोट गुमाउने

Image

नेपाली राष्ट्रिय टिमका तीव्र गतिका बलर करण केसीले आइसिसी टी-२० विश्वकप छनोट प्रतियोगिता गुमाउने भएका छन्।

ढाडको चोटका कारण उनी नेपाली टिमबाट बाहिर हुने भएका हुन्। हाल ओमानमा रहेका केसीको स्थानमा अर्का तीव्र गतिका बलर ओमान पठाउने तयारी भइरहेको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जनाएको छ।

केसीले सोमबार सकिएको टी-२० सिरिजमा पनि चोटका कारण तीनै खेल गुमाएका थिए। टिमका अनुभवी बलर केसी टी-२० र एकदिवसीय खेलमा नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा छन्।

फागुन ६ गतेदेखि हुने टी-२० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।

समूह ‘ए’ लाई पनि समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छन्।

समूह १ र २ का शीर्ष २-२ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टिमले यहि वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।

नेपालले विश्वकपमा स्थान पक्का गर्न सुरुमा समूह १ को शीर्ष दुईभित्र पर्नु पर्नेछ, त्यसपछि सेमिफाइनलको खेल जिते नेपाल यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ।

नेपालको खेल
नेपाल भर्सेस ओमान – ओमान एकेडेमी १- फागुन ६
नेपाल भर्सेस फिलिपिन्स – ओमान एकेडेमी २- फागुन ७
नेपाल भर्सेस क्यानडा – ओमान एकेडेमी १ – फागुन ९
सेमिफाइनल १ र २ – ओमान एकेडेमी २-१ – फागुन १०
फाइनल – ओमान एकेडेमी १ – फागुन १२