हेटौंडा । काठमाडौं गृह मन्त्रालयले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा हुने सम्भावित प्रदर्शनलाई लक्षित गर्दै थप सुरक्षा सतर्कता बढाएको छ । सरकारले भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिरहेको छ त्यसैले गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्ला र विशेष गरी नयाँ बानेश्वर स्थित संसद् भवन वरपरको क्षेत्रमा सुरक्षा सर्तकता बढाएको हो । एमसीसीको विरोधमा संसद् भवन अगाडि दिनहुँ जसो मसाल जुलुस निकालेर प्रदर्शनहरु भइरहेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवन वरपर आजैदेखि सुरक्षाकर्मीको संख्या दोब्बर बनाइएको स्रोतले बताएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले प्रभावकारी रुपमा सुरक्षाको बन्दोबस्ती मिलाइएको बताए । प्रवक्ता पोखरेलले भने ‘तोकिएको निषेधित क्षेत्र तोड्ने अधिकार कसैको पनि छैन । निषेधित क्षेत्र उल्लंघन गर्ने साथै सार्वजनिक सम्पत्तिको तोडफोड भए कारवाही हुन्छ । संभावित विरोध प्रदर्शनबाट उत्पन्न हुन सक्ने परिस्थतिबारे छलफल गर्न मंगलबार तीनवटै जिल्लाका सुरक्षा समितिको औपचारिक/अनौपचारिक बैठकसमेत बसेका छन् । भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने भएपछि नयाँ बानेश्वर र त्यस आसपासको सुरक्षा व्यवस्था कडा पारिएको हो ।
गृह मन्त्रालयले समेत तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जोखिम पहिचान गरी सोही बमोजिम मजबुत सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको छ । प्रहरी प्रवक्ता विष्णुकुमार केसीले संवेदनशील क्षेत्रको पहिचान गरी सोही बमोजिम सुरक्षा सर्तकता अपनाइएको पनि बताए । प्रवक्ता केसीले भने ‘घोषित कार्यक्रमहरु अहिलेसम्म आएको छैन । अन्य नारा, जुलुसलगायतका विरोध प्रदर्शन र त्यसको जोखिमबारे हामी सचेत रहेका छौ ।’ अरु दिनको तुलनामा भन्दा संसद भवन वरपरका संवेदनशील स्थानमा सुरक्षाकर्मीको संख्या बढाइने उनको भनाइ रहेको छ ।
गृह मन्त्रालयले संसद भवन आसपास विरोध र जुलुस हुन सक्ने भन्दै त्यसतर्फ सचेत रहन तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ । संसद भवन वरपरको सुरक्षा अवस्थालाई थप मजबुत बनाउन भक्तपुर र ललितपुरबाट समेत सुरक्षाकर्मी झिकाइने प्रबन्ध मिलाइएको प्रहरीका एक अधिकारीले बताए । एमसीसी अनुमोदन गर्नेबारे राजनीतिक दलहरु विभाजित हुँदा सडक प्रदर्शन हुने सम्भावना बढेर गएको छ । गृहले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखेको स्रोतले बताएको छ। (अन्नपूर्णमा खबर छ)
















