संसदीय दलको बैठकमा यस्तो भने प्रचण्डले?

Image

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको संसद बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) टेबल नगर्न अनुरोध गर्ने बताएका छन्।

बुधबार बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा प्रचण्डले आज संसदमा एमसिसी टेबल नगर्न अनुरोध गर्ने तर जबरजस्ती टेबल भयो भने त्यसबाट पर्ने सबै असर व्यहोर्न तयार रहेको बताएका थिए। बैठकमा प्रचण्डले पहिला प्रतिपक्षी एमालेले गरिरहेको संसद अवरोध हट्नुपर्ने र एमसिसीमा सहमति हुनुपर्ने बताएका थिए।

‘पहिला संसद सुचारू हुनपर्‍यो, सहमति हुनुपर्‍यो, सहमति नभइकन एमसिसी पेस भयो भने त्यसपछि सरकारमा बस्ने कि नबस्ने भन्ने हुन्छ,’ प्रचण्डलाई उद्धृत गर्दै बैठकमा सहभागी एक सांसदले भने,‘हामी पर्‍यो भने सरकार छोड्छौं, आज टेबल नगर्नको निम्ति हामी अनुरोध गर्छौं, जबरजस्ती टेबल भयो भने त्यसबाट पर्ने सबै असर व्यहोर्न तयार छौं, परेको व्यहोर्ने भनेको सरकार छोड्ने हुन्छ कि गठबन्धन तोड्ने हुन्छ।’

बैठकले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकार छोड्ने निर्णय गरेको छ। संशोधनबिना एमसिसी पारित गर्न नसकिने निष्कर्ष निकाल्दै जबरजस्ती पारित गर्न खोजे सरकार छोड्ने निर्णय गरेको सांसद दुर्गाकुमारी बिकले जानकारी दिइन्।

बैठकलगत्तै माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका छन्। माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङले गठबन्धनको सहमतिबिना सरकारले एमसिसी टेबल गरे गठबन्धन भत्किने बताए।

‘यो पाँच दलीय गठबन्धनको सरकार हो। गठबन्धनको सहमतिबिना कांग्रेसले टेबल गरे गठबन्धन भत्किन्छ,’ गुरूङले भने,‘गठबन्धन भत्किएपछि हामी सरकारमा बस्दैनौं।’

यसअघि माओवादी अध्यक्ष प्रचण्डले मंगलबार राति आफ्नो निवास खुमलटारमा पार्टीका नेताहरूसँग छलफल गरेका थिए। छलफलमा केही नेताहरूले अहिले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले पनि एमसिसीको विरोध गरिरहेकाले अहिले एमसिसी पारित नगर्ने बरू एमालेसँग कुरा गर्नुपर्ने सुझाव दिएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकमा प्रचण्डले एमसिसी टेबल गर्न दिने तर आफूहरू अनुपस्थित हुने भनी गरेको सहमतिको पनि केही नेताहरूले विरोध गरेका थिए।

पार्टी महाधिवेशनले नै संशोधनबिना एमसिसी पारित गर्न नहुने निर्णय गरेकाले अहिले बिना संशोधन एमसिसी पारित गर्नु महाधिवेशनको निर्णयविपरीत हुने बताएका थिए।

नेताहरूले फरक-फरक कुरा गरेपछि माओवादी केन्द्रले एमसिसीबारे निर्णय गर्न सकेको छैन। आजको संसद बैठकमा एमसिसी टेबल गर्ने प्रबल सम्भावना छ।