काठमाडौं । ओपनर कुशल भुर्तेलले शतक बनाउनुका साथै दीपेन्द्रसिंह ऐरीसँग १७१ रनको साझेदारी गरेपछि नेपालले शनिबार आर्ईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा फिलिपिन्सलाई २१९ रनको लक्ष्य पेश गरेको छ ।
मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीमा फिलिपिन्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गरेको हो । नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१८ रन बनायो ।
ओपनर कुशल भुर्तेल ६१ बलमा १३ चौका र १ छक्कासहित अविजित १०४ रन बनाए । कुशल नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने तेस्रो खेलाडी बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक बनाएका थिए ।
कुशलले दीपेन्द्रसिंहसँग तेस्रो विकेटका लागि १७१ रनको साझेदारी गरे । जुन ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले कुनै पनि विकेटका लागि बनाएको यो सबभन्दा ठूलो साझेदारी हो ।
ओपनर आसिफ शेख शून्य कुशल मल्ल १२ रनमा आउट भएपछि दीपेन्द्रसिंह ब्याटिङका लागि आएका थिए । दीपेन्द्रसिंह ब्याटिङमा आउँदा नेपाल ३६/२ को स्थितिमा थियो ।
दीपेन्द्रसिंह ४७ बलमा ६ चौका र ४ छक्कासहित ८३ रनमा आउट भए । १८.५ ओभरमा उनी आउट हुँदा नेपाल २०७/३ को स्थितिमा थियो । लोकेश बम ६ रनमा अविजित रहे ।
फिलिपिन्सका गुरभुपेन्द्रर चोहान, ड्नियल गुडविन र मिगी पोडोस्कीले एक एक विकेट लिए ।
नेपालले पहिलो खेलमा आयोजक ओमानलाई ३९ रनले हराएको थियो ।














