छोराछोरी लिएर श्रीमान बेपत्ता भएपछि वनमा झुपडी बनाएर बस्दै कञ्चनपुरकी उमा

Image

कञ्चनपुर

शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित वसन्त सामुदायिक वन क्षेत्रमा दुई महिनादेखि २८ वर्षीया उमा चौधरी झुपडी बनाएर बस्दै आएकी छिन्। सालको पातको झुपडी बनाई चौधरी वन क्षेत्रमा एक्लै बस्दै आएकी हुन्।

बेलौरी नगरपालिकाको कुण्डा घर भएकी चौधरीलाई श्रीमान् रामबहादुर चौधरीले कुटपिट गरी बालबालिका लगेर अलपत्र पारेपछि उनी दुई महिनादेखि वन क्षेत्रमा झुपडी बनाएर बस्दै आएको बताउँछिन्। “श्रीमानले सधैँ कुटपिट गर्थे”, चौधरीले भनिन्, “माइतीमा गएका बेला जग्गा बेचेर एक छोरा र दुई छोरी लिएर श्रीमान बेपत्ता भएपछि वन क्षेत्रमा आएर बस्दैछु, सहारा कोही छैन।”

वन क्षेत्रमा रुखमुनि बस्दै गरेको देखेपछि स्थानीयवासीको सहायतामा कलुवापुर बजार नजिकैको वनमा स्थानीयले झुपडी बनाइदिएका हुन्। चौधरीले नजिकैको गाउँबाट खाना मागेर खाँदै आएकी छिन्। लगाउने ओढ्ने कपडासमेत मागेर गुजारा चलाउने गरेको चौधरीले बताइन्। कृष्णपुर नगरपालिका–२ मा रहेका माइतीले समेत नहेरेपछि बाध्य भएर वन क्षेत्रमा बस्नुपरेको उनको दुःखेसो छ।

वडाध्यक्ष दिलबहादुर बुढा एक्लै महिला वन क्षेत्रमा तुषारोसमेत नछेक्ने झोपडीमा बस्दै गरेको देखेपछि वनछेउकै मन्दिरमा साधु बस्ने कुटीको बरण्डामा बस्ने व्यवस्था मिलाएको बताउँछन्। “महिलालाई उद्धार गरी सहजरूपमा बसोवासको व्यवस्था मिलाउनका लागि परोपकारी संस्थाको खोजीमा लागेका छौँ”, उनले भने।

रासस