ऐतिहासिक खेलमा पिएनजीविरुद्ध खेल्दै नेपाल, प्लेइङ-११ दुई परिवर्तनको सम्भावना

Image

काठमाडौं ।

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा आज नेपालले पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध खेल्दैछ । नेपाल–पिएनजीबीचको खेल मध्यान्ह साढे १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।

आज नेपाल आफ्नो ५० औं अन्तर्राष्ट्रिय टी-२० म्याच खेल्न लागेकाे हो । यो महत्वपूर्ण खेल जित्दै नेपाल इतिहास रच्न चाहन्छ । साथै, आजको खेल जिते नेपाल एक म्याच अगावै सिरिजको फाइनलमा पनि पुग्नेछ ।

पहिलो र दोस्रो खेलमा नेपालले क्रमशः पिएनजी (१५ रन) र मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल लगातार तेस्रो जित निकाल्दै लय कायमै राख्न चाहन्छ । पिएनजी भने पहिलो जितको खोजीमा छ । अंक जोड्न नसकेको ऊ तालिकाको पुछारमा छ ।

मलेसिया २ खेलमा २ जित १ हारसँगै २ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । हालसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र पिएनजीले एकअर्काविरुद्ध २ पटक प्रतिस्पर्धा गरेका छन् । जसमा दुवै टिमले एक/एक खेलमा जित हात पार्दा समान एक खेलमा पराजय बेहोरेका छन् ।

आजको खेलमा नेपालले प्लेइङ–११ दुई खेलाडी परिवर्तन गर्न सक्छ । आज आरिफ शेख र कुशल मल्लको स्थानमा विवेकुमार यादव र सागर ढकालले मौका पाउन सक्छन् । यी दुवै खेलाडीले जारी सिरिजको अघिल्लो दुई खेलमा प्लेइङ–११ मा मौका पाएका थिएनन् ।

नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, दिलिप नाथ (विकेटकिपर), विवेकुमार यादव, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने (कप्तान), अविनाश बोहरा र सागर ढकाल ।