काठमाडौं ।
टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यूगिनी (पिएनजी) सँगको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । नेपाल र पिएनजीबीचको खेल साढे १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुँदैछ ।
आजको खेलमा युवा अलराउन्डर आदिल अन्सारीले डेब्यू गरेका छन् । उनलाई नेपाली क्रिकेट टोलीका पूर्वक्रिकेटर तथा प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले डेब्यू क्याप दिए । आदिल आक्रामक ब्याटिङको लागि चिनिन्छन् ।
उनले कुशल मल्लको स्थान लिँदै डेब्यूको मौका पाए । आज नेपाल आफ्नो ५० औं अन्तर्राष्ट्रिय टी-२० म्याच खेल्न लागेकाे हो । यो महत्वपूर्ण खेल जित्दै नेपाल इतिहास रच्न चाहन्छ । साथै, आजको खेल जिते नेपाल एक म्याच अगावै सिरिजको फाइनलमा पनि पुग्नेछ ।
पहिलो र दोस्रो खेलमा नेपालले क्रमशः पिएनजी (१५ रन) र मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल लगातार तेस्रो जित निकाल्दै लय कायमै राख्न चाहन्छ । पिएनजी भने पहिलो जितको खोजीमा छ । अंक जोड्न नसकेको ऊ तालिकाको पुछारमा छ ।
मलेसिया २ खेलमा २ जित १ हारसँगै २ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । हालसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र पिएनजीले एकअर्काविरुद्ध २ पटक प्रतिस्पर्धा गरेका छन् । जसमा दुवै टिमले एक/एक खेलमा जित हात पार्दा समान एक खेलमा पराजय बेहोरेका छन् ।
नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, दिलिप नाथ (विकेटकिपर), आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने (कप्तान) र अविनाश बोहरा ।
















