बैतडी ।
जिल्ला प्रहरी कार्यालय बैतडीले अगामी बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनका लागि मतदान स्थलमा खटिने सुरक्षाकर्मीको विवरणसहित सुरक्षा योजना तयार पारेको छ । मतदान केन्द्रमा म्यादी प्रहरीसहित ८ देखि १५ जना सम्म परिचालन गरिने छ ।
अतिसंवेदनशील मतदान स्थलमा एउटै मतदान केन्द्र भएको ठाउँमा ३ जना प्रहरी र ८ जना म्यादी प्रहरी परिचालन गरिने छ । दुई वटा केन्द्र छ भने ५ जना प्रहरी र १० जना म्यादी प्रहरी खटिने छन् ।
यसैगरी संवेदनशील मतदान स्थलको हकमा पनि एउटा मात्रै केन्द्र भएको ठाँउमा ३ प्रहरी र ६ म्यादी प्रहरी परिचलान गरिने छ । दुई वटा केन्द्र भएको ठाउँमा ४ प्रहरी र ८ म्यादी प्रहरी खटिने छन् । तीन वटा मतदान केन्द्र भएको ठाउँमा ५ प्रहरी १० म्यादी परिचालन गरिने छ ।
समान्य मतदानस्थलको हकमा एउटै मात्र केन्द्र भए ५ म्यादी र ३ प्रहरी परिचालन गरिने छ । दुई वटा मतदान केन्द्र भएको ठाउँमा ४ प्रहरी ७ म्यादी र तीन वटा मतदान केन्द्र भएको ठाउँमा ५ जना प्रहरी र ९ जना म्यादी प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जिल्लामा १२९ मतदान स्थल रहेका छन् भने २०५ मतदान केन्द्र रहेका छन् । जिल्लामा ६६७ जना प्रहरी र १०५१ जना म्यादी प्रहरी परिचान हुने छन् ।











