काठमाडौं ।
एसियन कप छनोट र त्यसअघिको थप तयारीका लागि राष्ट्रिय फुटबल टोली कतार प्रस्थान गरेको छ । २३ सदस्यीय खेलाडीसहितको टोली बुधबार कतारको दोहा प्रस्थान गरेको हो । टोलीलाई मंगलबारै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले टोलीले विदाई गरेका थिए ।
नेपाली टोली जेठ ११ देखि २० गते सम्म कतारमा प्रशिक्षणमा रहनेछ । त्यहाँ रहँदा टोलीले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । टिमोर लिस्टेसँग यही शनिबार र ओमानसँग अर्काे साताको शुक्रबार हुनेछ ।
जेठ २१ गते टोली कुवेत जानेछ । टोलीले जेठ २५ गतेदेखि ३१ गते सम्म कुवेतमा हुने एसियन कप छनोट खेलेर असार १ मा स्वदेश फर्कनेछ । नेपाल रहेको समूह एमा कुवेत, जोर्डन, इन्डोनेसिया रहेको छ । एसियन कप छनोटमा नेपाली टोलीले जेठ २५ गते जोर्डन, जेठ २८ गते कुवेत र इन्डोनेसियासँग जेठ ३१ गते प्रतिस्पर्धा गर्नेछ ।
हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र १० खेलाडीको विवादको अन्त्य नभएपछि नवयुग श्रेष्ठ नयाँ कप्तान नियुक्त भएका छन् । देश बाहिर रहेका किरण चेम्जोङसहित बन्द प्रशिक्षण छोड्न बाध्य पारिएका ११ खेलाडी विना नै राष्ट्रिय टोलीको अन्तिम छनोट गरेपछि नवयुग श्रेष्ठ नयाँ कप्तान तोकिएका छन् ।
घोषित नेपाली टोलीको गोलरक्षकमा दीप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा छन्। यस्तै, डिफेण्डरमा विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल रहेका छन्।
मिडफिल्डमा आकाश बुढामगर, एरिक विष्ट, निरकुमार राई, पुजन उपर्कोटी, रोशन रानामगर, सन्तोष तामाङ, शेशेहाङ आङदेम्बे, सुनील वल र सुरज ज्यू ठकुरी रहँदा फरवार्डमा आयुश घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठले मौका पाएका छन्।














