काठमाडौं ।
एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोटका खेल भोलिबाट सुरू हुँदैछन् । नेपाल रहेको समूह ‘ए’ को खेल कुवेतमा हुँदैछ । नेपालले पहिलो खेलमा बलियो टोली जोर्डनविरुद्ध खेल्दैछ । नेपाल र जोर्डनबीचको खेल बुधबार राति १ बजे कुवेत सिटीमा हुनेछ । नेपाल टिमका लागि यो प्रतियोगिता कठिन परीक्षा हुने पक्का छ ।
टिममा युवा खेलाडीको बाहुल्यता छ । कतिपय खेलाडी पहिलो पटक विदेशी भूमिमा खेल्दैछन् । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग असझमदारी बढेपछि तत्कालिन कप्तान किरणकुमार लिम्बूसहित ११ जना सिनियर खेलाडी राष्ट्रिय टिममा छैनन् । एन्फा होस्टलमा सुविधा बढाउनु पर्ने वा नेपाली टिम होटलमा राख्नु पर्ने माग राखेपछि अलमुताइरीले रोहित चन्दलाई प्रशिक्षण छाडेर जान भने पछि विवाद सुरु भएको थियो ।
त्यसपछि प्रशिक्षकले युवा खेलाडी समेटेर बन्द प्रशिक्षण सञ्चालन गरेका थिए । युवा टिमले घरेलु मैदानमा नेपालमा उपलब्ध अफ्रिकन खेलाडीसँग अभ्यास खेल खेलेका थिए । वर्तमान समयमा जोर्डन फिफा वरियताको ९१ औं स्थानमा छ । नेपाल भने वरियताको १६८ औं स्थानमा छ ।
नेपाल र जोर्डनबीचको विगत कस्तो?
नेपालले हालसम्म जोर्डनसँग चार खेल खेलको छ । जसमा नेपालले तीन हार एक बराबरीको नतिजा निकालेको छ । नेपाल–जोर्डनले सन् २०११ मा पहिलोपटक एकअर्काको सामना गरेका थिए । विश्वकप छनोटअन्तर्गतको उक्त भेटमा नेपालविरुद्ध जोर्डनले ९–० को फराकिलो जित हात पारेको थियो । सोही वर्ष विश्वकप छनोटअन्तर्गत नै घरेलु मैदानमा नेपालले जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो ।
नेपालले विश्वकप छनोटअन्तर्गत सन् २०१९ र २०२१ मा भएको भेटमा समान ३–० को हार बेहोरेको थियो । इतिहास हेर्दा नेपालले जोर्डनसँग १६ गोल बेहोर्दा एक गोल मात्र फर्काउन सकेको छ । यदि बुधबार राति जोर्डनविरुद्ध २ गोल गर्न सके नेपालले इतिहास रच्नेछ । हालसम्म एकै खेलमा नेपालले जोर्डविरुद्ध २ गोल गर्न सकेको छैन ।
यो पनि : नेपाल र बलियो टोली जोर्डनबीच खेलको लाईभ हेर्न सकिने, यस्तो छ हेर्ने तरिका














