काठमाडौं ।
एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत गएराति इन्डोनेसियाविरुद्ध नेपाल ७–० ले पराजित भयो । कुवेतको जाबिर अल अहमद स्टेडियममा बेहोरेको यो हारसँगै छनोटको समूह ‘ए’ मा रहेको नेपाल जित र अंकविहीन बन्यो ।
यो खेलमा नेपालका दुई खेलाडीले अन्तर्राष्ट्रिय डेब्युको अवसर प्राप्त गरे । शिव गुरुङ र नीरकुमार राईले सुरुआती–११ मा पर्दै डेब्यु गरेका हुन् । योसँगै नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अन्तर्राष्ट्रिय डेब्युको अवसर प्रदान गरेका खेलाडीको अवसर संख्या १५ पुगेको छ ।
अल्मुताइरी २०७७ को चैतमा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको आगमनसँगै युवा नेपाली खेलाडीले टोलीमा मौका पाउँदै आएका छन् । अलमुताइरीले डेब्युको अवसर दिएका पहिलो खेलाडी हुन गौतम श्रेष्ठ र मनिष डाँगी । दुवैले गत वर्ष इराकविरुद्धको मैत्रीपूर्ण खेलमा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।
यी हुन् अलमुताइरीले डेब्यु गराएका १५ खेलाडी : गौतम श्रेष्ठ, मनीष डाँगी, कमल थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, नितिन थापा, विशाल श्रेष्ठ, राजन गुरुङ, सुदीप गुरुङ, आकाश बुढा मगर, प्रशान्त अवस्थी, विकास तामाङ, दीप कार्की, शिव गुरुङ र नीरकुमार राई ।
जोर्डनसँगको हारपछि के भन्छन् प्रशिक्षक अल्मुताइरी?
इन्डोनेसियाविरुद्धको हारपछि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अहिलेका कमजोरीबाट पाठ सिक्नुपर्ने बताएका छन् । उनले एसियन कप छनोटमा गरेका कमजोरीहरू अर्को सेप्टेम्बरमा मैत्रीपूर्ण खेलअघि समाधान गर्न आवश्यक रहेको पनि बताएका छन् ।
‘प्रिय नेपाली फ्यानहरू… एसिया कप २०२२ को छनोटमा हाम्रो यात्रा समाप्त भएको छ । हामीले धेरै सकारात्मक अंकहरू पाउनेछौं । र, कमजोरीहरू पनि हामीले अर्को सेप्टेम्बरमा मैत्रीपूर्ण खेलहरूअघि समाधान गर्न आवश्यक छ,’ अल्मुताइरीले फेसबुकमार्फत भनेका छन्, ‘म चाहन्छु कि सबै दोष मलाई जान्छ र खेलाडीहरूलाई दोष नदिनुहोला ।’














