पशुपन्छी तथा मत्स्यपालक संघ/संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

Image

हेटौंडा – पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशको आयोजनामा पशुपन्छी तथा मत्स्यपालक संघ/संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । निर्देशनालयको सभाहलमा प्रदेशका विभिन्न जिल्लाका पशुपन्छी तथा मत्स्यपालक संघ÷संस्थाका पदाधिकारीहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

चालु आर्थिक बर्ष २०८०÷०८१ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार आगामी आर्थिक बर्षमा प्रदेश सरकारले कृषकका लागि बनाउन पर्ने योजना,नीति तथा कार्यक्रमका बिषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागी भएका किसानहरुले प्रदेश सरकार किसानमैत्री हुनपर्ने बताउँदै दूग्ध उत्पादक किसानहरुको दुधको रकम भुक्तानी देखि अनुदानसम्मका गम्भीर बिषयमा प्रदेश सरकार लगायत सरकार मातहतका कार्यालयहरुले चासो देखाउन जरुरी रहेको चितवन जिल्ला दूग्ध उत्पादक सहकारी संघका अध्यक्ष शिव प्रसाद पौडेलले बताए ।

उनले कुखुरा पालक कृषकहरुका लागि पनि भ्याक्सिन देखि औषधि उपचार तथा बीमा कार्यक्रममा प्रदेश सरकारको भूमिका पारदर्शी नभएको गुनासो समेत गरेका थिए । किसानलाई प्रदान गरिने अनुदानहरुमा वास्तविक किसान र उसको आवश्यकतालाई पहिचान गरेर मात्रै अनुदान सामाग्रीहरु वितरण गर्नुपर्ने जरुरी रहेको सहभागी संघ संस्थाका प्रतिनिधिहरुले बताएका थिए ।

प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोद भट्टराईको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा कृषि विकास निर्देशनालयका निर्देशक शुधिर श्रेष्ठ, कृषि मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख भरत विडारी, मन्त्रालयका योजना महाशाखा प्रमुख सुजन कंडेल, मन्त्रालयका प्रमुख प्रशासन महाशाखा प्रमुख गोविन्द सुवेदी लगाएतको आतिथ्यता रहेको थियो ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक गौरीमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उनले किसानहरुले उठाएको विभिन्न सुझावहरुलाई मनन गर्दै आगामी आर्थिक बर्षको योजना तयार गर्ने प्रतिवद्धता समेत जनाए ।