हेटौंडा – बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले १७औं गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। प्रदेश प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्नुभएको छ।
गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात, अज्ञात सबै अमर शहिदहरूप्रति भावपूर्ण श्रद्धान्जली समेत उहाँले अर्पण गर्नुभएको छ। साथै बेपत्ता, घाइते तथा अपाङ्ग योद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ।
सार्वभौमसत्ता पूर्ण रूपमा जनतामा निहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन र सरकार सञ्चालन हुने उत्कृष्ट प्रणालीको शुरुवात भएको यो ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हामीले हरेक वर्ष यो दिवस मनाउँदै आएका छौं, प्रमुख शर्माले भन्नुभएको छ।
उहाँले जनताका प्रतिनिधिमार्फत निर्मित संविधानमा व्यवस्था गरिएको मौलिक हक, संघीय शासन प्रणाली, धर्मनिरपेक्षता, समावेशीता, सामाजिक न्याय जस्ता प्रावधानले समाजवादको दिशामा अग्रसर हुन मार्गप्रशस्त गरेको बताउनुभएको छ। यो नेपाल र नेपालीका लागि अत्यन्तै सुखद र गौरवको विषय भएको उल्लेख गर्नुभयो।
लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामार्फत मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै आर्थिक, सामाजिक र साँस्कृतिक रूपान्तरणसहित सभ्य, सुसंस्कृत र समुन्नत समाज निर्माण हुने विश्वासका साथ प्रमुख शर्माले संवैधानिक रूपमा प्राप्त हक(अधिकारको प्रभावकारी कार्यान्वयन गर्दै राष्ट्र निर्माणको महाअभियानमा यो दिवसले हामि सबैलाई अभिप्रेरित गरोस् भन्दै सुभकामना व्यक्त गर्नुभयो।
















