काठमाडौं । आजबाट अमेरिका र वेस्ट इन्डिजमा सुरु भएको नवौं संस्करणको आइसीसी टी-२० विश्वकपको पहिलो खेलमा क्यानडाले अमेरिकालाई १ सय ९५ रनको लक्ष्य दिएको छ ।
ग्रान्ड प्रियरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको हो। क्यानडाका लागि निकोलस किर्टन र नवनित धालीवालले अर्धशतक बनाए ।
क्यानडाका नवनीत धालिवालले सर्वाधिक ६१ रन बनाए। ४४ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे। पहिलो विकेटका लागि उनले अरन जोन्सनसँग ३२ बलमा ४३ रनको साझेदारी गरेका थिए।
जोन्सन छैटौं ओभरको दोस्रो बलमा २३ रनमा आउट भए। निकोलस किर्तनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाए। दिलप्रीत सिंह ११ र पर्गट सिंह ५ रनमा आउट हुँदा श्रेयस मोब्बा ३२ र डिलन हेलिगर १ रनमा अविजित रहे। अमेरिकाका अली खान, हरमीत सिंह र कोरी एन्डर्सनले १/१ विकेट लिए।

















