काठमाडौं । आजबाट अमेरिका र वेस्ट इन्डिजमा सुरु भएको नवौं संस्करणको आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी सुरुवात गरेको छ ।
विश्वकपको डेब्यु खेलमा नै जित निकाल्ने क्रममा अमेरिकाको डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले ७ विकेटको सहज जित हात पारेको हो । आरोन जोन्स र एन्ड्रिज गौसको ऐतिहासिक साझेदारीमा क्यानडामाथि घरेलु मैदानमा १४ बल खेल्न बाँकी हुँदा अमेरिकाले ७ विकेटको शानदार जित निकालेको हो ।
क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य अमेरिकाले १७ दशमलब ४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । अमेरिकाको जितमा गोस र जोन्सले अर्धशतकीय ईनिङ खेले । जोन्सले ४० बलमा ४ चौका र १० छक्काको सहयोगमा अविजित ९४ रन बनाए । गोसले ४६ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ६५ रन बनाए । तेस्रो विकेटका लागि जोन्स र गोसले ५८ बलमा १ सय ३१ रनको शतकीय साझेदारी गरे ।
पहिलो ओभरमा नै ओपनर स्टेभन टेलरलाई शुन्य रनमा गुमाएर खराब सुरुआत गरेको अमेरिका लागि अर्का ओपनर तथा कप्तान मोनाकं पटेलले १६ बलमा १६ रन बनाए । क्यानडाका लागि डेलिन ह्यालिगंर, कलिम साना र निखिल दत्तले समान एक/एक विकेट लिए ।
त्यसअघि ग्रान्ड प्रियरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनायो ।उसका लागि पूर्वकप्तान नवनीत धालिवाल र निकोलस किर्टनले अर्धशतकीय पारी खेले । धालिवालले ४४ बलमा ६ चौका र तीन छक्कासहित सर्वाधिक ६१ रन बनाए।
टी–२० आईमा धालिवालको यो सातौं अर्धशतक हो । पहिलो विकेटका लागि उनले अरन जोन्सनसँग ३२ बलमा ४३ रनको साझेदारी गरेका थिए। जोन्सन छैटौं ओभरको दोस्रो बलमा २३ रनमा आउट भए। यस्तै, निकोलस किर्तनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाए। टी–२० आईमा किर्तनको यो पहिलो अर्धशतक हो ।
यस्तै, दिलप्रीत सिंह ११ र पर्गट सिंह ५ रनमा आउट हुँदा श्रेयस मोब्बा ३२ र डिलन हेलिगर १ रनमा अविजित रहे। अमेरिकाका अली खान, हरमीत सिंह र कोरी एन्डर्सनले १/१ विकेट लिए।
जारी संस्करणको विश्वकपमा पहिलोपटक २० देशले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा नेपालले पहिलो खेलमा मंगलबार नेदरल्याण्ड्ससँग खेल्नेछ । यस्तै, नेपालले १२ जुनमा श्रीलंका, १५ जुनमा दक्षिण अफ्रिका तथा १७ जुनमा बंगलादेशको सामना गर्नेछ । नेपाल १० वर्षपछि विश्वकप खेल्न लागेको हो ।

















