क्यानडाविरुद्ध नेपालले टस जित्यो, यस्तो छ नेपालको प्लेईङ-११

Image

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका छन् ।आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलाअन्तर्गत नेपालले क्यानडाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

लिग–२ अन्तर्गत यसअघि घरेलु भूमिमा भएको त्रिदेशीय शृंखलामा खराब लयबाट गुज्रिएको नेपाल तालिकाको सातौँ स्थानमा छ । यसअघि नेपालले घरेलु मैदानमै खेलेका चार खेलमध्ये तीन खेलमा हार व्यहोर्दा एक खेलमा मात्र जित निकालेको थियो ।

आठ टिममध्ये सातौँ स्थानको नेपालको खातामा दुई अंकमात्र छ । आजको खेलमा जित निकाले नेपाल तालिकाको छैटौँ स्थानमा उक्लिनेछ । यता, तालिकाको शीर्ष तीनभित्र रहेको क्यानडाले भने लिग–२ मा मिश्रित नतिजा निकालेको छ ।

आठ खेलमध्ये चारमा जित र चार खेलमा हार व्यहोरको क्यानडा आठ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । क्यानडामा हुने शृंखलामा नेपाल, क्यानडा र ओमान सहभागी छन् । नेपालले आजको खेलपछि बुधबार ओमानसँग खेल्नेछ । यस्तै, नेपाले आइतबार पुनः क्यानडासँग र मंगलबार ओमानसँग खेल्ने तालिका छ ।

क्यानडाविरुद्ध नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, भीम सार्की, कुशल मल्ल, गुलशनकुमार झा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।

बेन्चमा : अनिलकुमार साह, आरिफ शेख, अर्जुन साउद, रिजन ढकाल र देव खनाल ।