आजदेखि सोह्रश्राद्ध सुरु, श्राद्धमा के के कर्म गर्नुपर्छ ?

Image

काठमाडौं । आजदेखि सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने परम्परा अनुसार यसलाई सोह्रश्राद्ध भनिन्छ ।

वैदिक सनातन हिन्दू परम्परामा, कुनै चाडपर्व वा यज्ञ अघि पितृलाई श्रद्धाभक्तिपूर्वक सम्झेर सोह्रश्राद्ध गरिन्छ । शास्त्रीय मान्यता अनुसार, पितृले आफ्ना सन्तानबाट तर्पण र पिण्डको आश गरिरहेका हुन्छन् ।

सोह्रश्राद्ध गर्दा पितृप्रतिको दायित्व पूरा हुनुका साथै पितृऋणबाट मुक्त हुने धार्मिक विश्वास छ । यसलाई नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रीहरू बताउँछन् ।

सोह्रश्राद्ध अपराह्नकालमा गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ, र जाताशौच, मृताशौच वा पत्नी रजस्वला भएका अवस्थामा मात्र यो कर्म रोक्न सकिन्छ । यदि कुनै कारणवश सोह्रश्राद्ध रोकिएको खण्डमा, शास्त्रमा विभिन्न विकल्पहरू दिइएका छन् ।

कर्ताले आफ्ना पिताको तिथिमा श्राद्ध गर्नु अनिवार्य भए तापनि अप्ठ्यारो परिस्थितिमा आश्विन कृष्ण औंसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न सकिने बताइएको छ । त्यसपछि पनि सम्भव नभएमा, कात्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन वा वृश्चिक सङ्क्रान्तिसम्म श्राद्ध गर्न सकिन्छ ।

यदि सोह्रश्राद्ध गर्न नसकिएमा, सक्नेले आफैं नसक्नेले ब्राह्मण मार्फत दैनिक १०८ मन्त्र जप गर्न सकिन्छ, जुन १० महिनासम्म विधिपूर्वक गर्नुपर्छ भन्ने विकल्प शास्त्रीय रुपमा दिइएको छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैं सुरु हुन्छ । ठूला पर्वहरू अघि पितृलाई तृप्त गराएर चाडपर्व मनाउने वैदिक परम्परा रहेको छ ।

श्राद्धमा के के कर्म गर्नुपर्छ ?

प्रत्येक महिनामा सामान्यतया दुई पक्ष पर्दछ । यसमा कृष्ण पक्ष र शुक्ल पक्ष पर्छ । तर, प्रत्येक वर्ष दसैँ आउनुभन्दा अगाडि आश्विन कृष्ण पितृ पक्ष आउँछ । यसलाई नै सोह्रश्राद्ध अर्थात् पार्वण श्राद्ध भनिन्छ । श्राद्ध भन्नाले सामान्य अर्थमा बुझदा आ-आफ्नो योग्यता अनुसार श्रद्धा अनुसार गरिने कार्य भन्ने बुझिन्छ । यसमा यति नै गर्नुपर्छ भन्ने हुँदैन ।

“श्रद्धया क्रियतेयत्र तच्छाद्धं परिकीर्तितम् ।”
अर्थात् –पितृका लागि जो कार्य गरिन्छ, त्यसलाई नै श्राद्ध भनिन्छ ।

देशे काले च पात्रे च श्रद्धया विधिना च यत् ।
पितृनुद्दिश्य विप्रेभ्यो दत्तं श्राद्धमुदाहृतम् ।।

देशकाल पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरूको नामोच्चारण गरी ब्राम्हणहरूलाई जो दान दिइन्छ त्यो दानलाई श्राद्ध भनिन्छ । यस प्रकार आफ्ना पितृहरूको मृत तिथिमा गरिने पितृ यज्ञलाई श्राद्ध भनिन्छ ।

एक छाके बस्नु भनेको यस दिन अपरान्हपछि मात्र एक छाक खानुपर्छ । दोस्रो दिन अर्थात् श्राद्धको दिनमा शौच स्नान नित्यकर्मादि गरी ब्राह्मणलाई बोलाई नियमानुसार श्राद्ध आरम्भ गर्नुपर्छ र श्राद्धपछि ब्राह्मण, बन्धु, बान्धब, भान्जा, भान्जी र छोरी ज्वाइँलाई खाना खुवाएपश्चात दान दक्षिणा गर्ने गरिन्छ ।

हाम्रो समाजमा एकोदिष्ट श्राद्ध जुन आफ्ना पितृहरूलाई वार्षिक रूपमा मृत तिथिमा गरिने श्राद्धलाई एकोदिष्ट श्राद्ध भनिन्छ । यो जुन पितृको मृत महिना पक्ष र तिथि याद गरी यो कार्य गरिन्छ ।

शास्त्रमा यसलाई पार्वण श्राद्धको नामबाट बुझिन्छ । आफ्नो पितृहरूको जुन तिथि हो त्यही तिथिमा श्राद्ध गर्नुपर्छ । एक पार्वण श्राद्ध औँसी तिथिमा र आश्विन कृष्ण पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एकपार्वण श्राद्ध पनि भनिन्छ ।

श्राद्ध गर्दा श्राद्ध गर्ने अधिल्लो दिनमा कपाल खौरने र एक भक्त रही ब्रह्मचर्य आदिको नियमको पालना गर्ने यसै दिनलाई नै एक छाके अर्थात हबिष्य पनि भनिन्छ – एक छाके भनेको यस दिन अपरान्हपछि मात्र एक छाक खानुपर्छ र श्राद्धका दिन अर्थात् भोलिका लागि ब्राह्मणलाई निमन्त्रण दिने गर्नुपर्छ ।

दोस्रो दिन अर्थात् श्रद्धाका दिनमा शौच स्नान नित्यकर्मादि गरी ब्राह्मणलाई बोलाई नियमानुसार श्राद्ध आरम्भ गर्नुपर्छ र श्राद्धपछि ब्राह्मण, बन्धु, बान्धब, भान्जा, भान्जी र छोरी ज्वाइँलाई खाना खुवाएपश्चात दान दक्षिणा गर्ने गरिन्छ ।