ओमानविरुद्ध यस्तो छ नेपालको सम्भावित प्लेईङ-११

Image

काठमाडौं । आइसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने खेल नेपाली समय अनुसार बुधवार राति ८ः४५ बजे सुरु हुनेछ ।

यो संस्करणको लिग टुमा नेपाल र ओमान पहिलो पटक आमने सामने हुँदैछन् । अघिल्लो संस्करणमा ओमानले दोस्रो र नेपालले तेस्रो स्थानमा रहेर लिग टु सकाएका थिए । अघिल्लो संस्करणमा नेपाल र ओमान ६ खेलमा आमने सामने हुँदा ४ खेल ओमानले तथा २ खेल नेपालले जितेको थियो ।

यो संस्करणमा ४ खेल खेल्दा ओमान ३ अंकका साथ छैटौं स्थानमा तथा नेपाल ५ खेलबाट २ अंकका साथ सातौं स्थानमा छ । यस त्रिकोणात्मक सिरिजमा नेपाल र ओमानको साथै क्यानडाको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिज असोज १० गते सम्म हुनेछ।

सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । ओमानले भने यो सिरिजमा पहिलो खेल खेल्दैछ । नेपालले त्रिकोणात्मक ओडिआई सिरिजमा तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध खेल्नेछ ।

ओडिआई सिरिज सकिएको २ दिन पछि तीन टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ । त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली‌ टोली अमेरिका जानेछ ।

यस्तै, आज ओमानविरुद्ध नेपालको प्लेइङ-११ मा दुई परिवर्तनको सम्भावना रहेको छ । बुधबार क्यानडाविरुद्धको खेलमा रहेका युवा खेलाडी अलराउडर कुशल मल्ल र गुलशनकुमार झा लाई विश्राम दिएर अनिलकुमार साह र आरिफ शेखलाई खेलाउने सम्भावना छ ।

ओमानविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, भीम सार्की, अनिलकुमार साह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।