नेपालले आज ओमानसँग भिड्दै, हेड टु हेडमा को बलियो?

Image

काठमाडौँ । आईसिसी मेन्स क्रिकेट वल्र्ड कप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानसँग खेल्दै छ। क्यानडाको किङ्ग सिटीमा हुने आजको खेल राति ८ः४५ बजेबाट सुरु हुनेछ। आजको खेलमा नेपाल जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ।

पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको नेपालले आजको खेलमा पहिलो जितको खोजीमा हुनेछ।रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टीमामा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, सोमपाल कामी, करण केसी, गुल्सनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ) मा रहेका छन्।

हेड टु हेड 

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्तपछि नेपाल र ओमानबीचको पहिलो भेट ५ फेब्रुअरी सन् २०२० मा भएको थियो । टियू ग्राउन्डमा भएको उक्त खेलमा ओमानसँग नेपाल १८ रनले स्तब्ध भयो ।

लिग–२ को सो खेलमा ओमानले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याउनेक्रममा नेपाल ४६.५ ओभरमा १७९ रनमै अलआउट भयो । यस्तै, यी दुई टिमले दोस्रो ओडिआई सोही वर्षको ९ फेब्रुअरीमा खेले । उक्त खेलमा ओमानसँग नेपालले ८ विकेटको फराकिलो हार बेहोर्‍यो ।

त्यस म्याचमा नेपालले दिएको २५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । यस्तै, ओडिआईमा नेपाल र ओमानको तेस्रो भेट १४ सेप्टेम्बर सन् २०२१ मा भयो । अल अमरातमा भएको उक्त खेलमा आयोजक ओमानसँग नेपाल ५ विकेट स्तब्ध भयो । सो म्याचमा नेपालले दिएको १९७ रनको लक्ष्य ओमानले ३१.१ ओभरमा पूरा गर्दै जितमा ह्याट्रिक गर्‍यो ।

नेपाल र ओमानले चौथो ओडिआईमा सोही वर्षको १९ सेप्टेम्बरमा प्रतिस्पर्धा गरे । र, नेपालले ओमानसँगको हारको यात्रा टुङ्ग्यायो । उक्त लिग–२ खेलमा नेपालले ओमानलाई ७ विकेटले हरायो । त्यस खेलमा ओमानले दिएको १२२ रनको लक्ष्य नेपालले १८.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

यस्तै, ओडिआईमा नेपाल र ओमानको पाँचौं भेट ९ जुन सन् २०२२ मा अमेरिकामा भयो । उक्त लिग–२ खेलमा ओमानसँग नेपाल १३ रनले स्तब्ध भयो । त्यस खेलमा ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याउनेक्रममा नेपाल ४९.४ ओभरमा १९८ रनमै अलआउट भयो ।

यद्यपि नेपालले सो लिग–२ श्रृंखलाको अर्को खेलमा ओमानविरुद्ध ७ विकेटको उत्कृष्ट पुनरागमन जित निकाल्यो । उक्त खेलमा ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३३.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

यी दुई टिमले पछिल्लोपटक अर्थात् सातौं खेलमा २१ अप्रिल २०२३ मा एकअर्काको सामना गरे । एसिसी प्रिमियर लिगको त्यस खेलमा नेपालले ओमानलाई ८४ रनले हरायो ।

टियू ग्राउन्डमा भएको उक्त म्याचमा नेपालले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमै अलआउट भयो । यसरी यी दुई टोलीबीचको विगत अर्थात् हेड टु हेड नियाल्दा नेपाल र ओमानले सात ओडिआईमा एकअर्काको सामना गरेका छन्, जसमा ओमानले चार र नेपालले तीन खेल जितेको छ ।

‘हेड टु हेड’ मा थोरैले अघि रहेको ओमान नेपालविरुद्ध पुनरागमन जितको खोजीमा छ । उसले पछिल्लो दुई ओडिआईमा नेपालसँग फराकिलो हार बेहोरेको छ । नेपाली टिम ओमानविरुद्ध जितमा ह्याट्रिक गर्ने योजनामा छ । र, नेपाल ओमानसँगको एकदिवसीय ‘हेड टु हेड’ रेकर्ड बराबर गर्न चाहन्छ ।

पछिल्लो एक–डेढ वर्षयताको खेल प्रदर्शन हेर्ने हो भने ओमानभन्दा नेपाल बलियो देखिन्छ । ओडिआई वरीयताको कुरा गर्दा पनि ओमानभन्दा नेपाल अगाडि छ । ताजा आइसिसी एकदिवसीय वरीयतामा नेपाल १६औँ र ओमान १७औँ स्थानमा छ ।

ओडिआईमा नेपालको उत्कृष्ट वरीयता १४औँ स्थान हो । नेपालले उक्त उपलब्धि सन् २०१९ मा हासिल गरेको थियो । यस्तै, यस फरम्याटमा ओमानको उत्कृष्ट वरीयता १३औँ स्थान हो । उसले यो सफलता सन् २०२० मा हासिल गरेको थियो । अब क्यानडा भ्रमणमा दुवै टिम उत्कृष्ट प्रदर्शन गरेर वरीयतामा फेरि सुधार गर्न चाहन्छन् ।