काठमाडौं । लगातारको वर्षाका नेपाल र ओमानबीचको विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजको खेल रद्द भएको छ । खेल नेपाली समय अनुसार राती ८ : ४५ मा क्यानडाको किंग सिटीमा सुरु हुनुपर्ने थियो । तर क्यानडामा बिहानै देखि वर्षा हुँदा खेल हुन सकेन । निरन्तर वर्षाको कारण खेल रद्द भएको हो । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् ।
त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग १ विकेटको हार बेहोरेको थियो । तेस्रो खेलमा क्यानडासँग फेरि ५ विकेटले पराजित भएको थियो ।
ओमानलाई हराउँदै लिग टुमा नेपाल दोस्रो जित दर्ता गराउने लक्ष्यमा रहेको थियो । यसअघि नेपालमै भएको विश्वकप लिग टुको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्समाथि जित हासिल गरेको थियो । अव नेपाल, क्यानडा र ओमानबीच त्रिकोणात्मक टी २० सिरिज हुनेछ ।
लिग २ मा नेपाल ८ खेलमा ३ अंकका साथ सातौं स्थानमाछ । ओमान ७ खेलमा २ मा जितका साथ ६ अंक जोड्दै छैटौं स्थानमा छ । क्यानडा ११ खेलमा १४ अंकका साथ शीर्ष स्थानमाछ । अमेरिका र नेदरल्यान्ड्सको समान १२-१२ अंक छ । नेटरनरेटका कारण अमेरिका दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् ।

















