एजेन्सी । मेजर लिग सकर (एमएलएस) फुटबलको आइतबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना स्टार लियोनल मेस्सी आबद्ध क्लब इन्टर मियामी बराबरीमा रोकिएको छ ।
इन्टर मियामीलाई शार्लोट फुटबल क्लबले १–१ गोलको बराबरीमा रोकेको हो । मेस्सीले इन्टर मियामीलाई सम्भावित हारबाट जोगाएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५७औँ मिनेटमा शार्लोटले अग्रता लिएको थियो ।
इन्टर मियामीको घरेलु मैदानमा खेलिएको उक्त खेलमा शार्लोटका लागि कारोल स्विडर्सकीले गोल गरेका थिए । तर, शार्लोटको त्यो अग्रता लामो समय टिक्न सकेन ।
निर्धारित समयको ६७औँ मिनेटमा इन्टर मियामीका लागि मेस्सीले बराबरी गोल गरेका थिए । खेलका क्रममा इन्टर मियामीका अर्का प्रभावशाली खेलाडी लुइस स्वारेजले केही गतिला अवसर खेर फालेका थिए ।

















