गुलशन बने ‘प्लेयर अफ द म्याच’

Image

काठमाडौं ।  क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत गएराती भएको ओमानविरुद्धको खेलमा अलराउन्डर गुलशन झा ‘प्लेयर अफ द म्याच’ बनेका छन् । ओमानविरुद्धको खेलमा अलराउन्ड प्रदर्शन देखाएका गुलशन ‘प्लेयर अफ द म्याच’ बनेका हुन् ।

ओमानविरुद्धको खेलमा गुलशनले ब्याटिङ तर्फ १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४० रन बनाएका थिए । बलिङमा गुलशनले २.१ ओभरमा १४ रन खर्चिएर २ विकेट लिएका थिए ।

गुलशनले समग्र अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौं तथा टि ट्वान्टी आईमा भने दोस्रो ‘प्लेयर अफ द म्याच’ अवार्ड पाएका हुन् । पछिल्लो पटक टि ट्वान्टी आईमा साउदी अरेबियाविरुद्ध गुलशन ‘प्लेयर अफ द म्याच’ भएका थिए । साउदीविरुद्धको सो खेल पछि लगातार ११ खेलमा हार बेहोरेको नेपालले १२औं खेलमा भने जित हात पारेको हो ।

क्यानडाको किङ सिटीमा गएराती सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो । जितका लागि एक सय ७७ रनको लक्ष्य पाएको ओमानले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३९ रनमा समेटियो ।

ओमानका लागि सोएविब खानले सर्वाधिक ४५ रनको योगदान दिए । त्यसैगरी रफिउल्लाले ३३ रन बनाए भने फयाज बुट्टले १७ रन जोडे ।

ओमानलाई एक सय ३९ रनमा समेट्ने क्रममा नेपालका करण केसीले तीन विकेट लिए भने कुशल भुर्तेलले दुई विकेट झारे । रिजन ढकाल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनाएको थियो ।

नेपालका लागि गुल्शन झाले सर्वाधिक ४० रनको योगदान दिए । उनले १७ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ४० रन बनाएका हुन् । त्यसैगरी कुशल मल्लले ३० रनको योगदान दिए । उनले २६ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३० रन बनाए ।

आसिफ शेख र अनिल शाहले समान २७/२७ रन बनाए । आशिफले २२ बलमा एक चौका र दुई छक्काको सहयोगमा २७ रन बनाए । अनिल साहले २१ बलमा तीन चौका र एक छक्काको मद्दतमा २७ रन जोडे ।

त्यस्तै कुशल भुर्तेलले २० रन बनाउँदा कप्तान रोहित पौडेल दुई रनमा आउट भए । बलिङतर्फ ओमानका अकिब इलियासले सर्वाधिक तीन विकेट लिए भने सकिल अहमेद, फैयाज बुट्ट र जिशान मक्सूदले समान एक–एक विकेट लिए ।

त्रिकोणात्मक टि ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । सिरिजमा नेपालको यो दोस्रो र ओमानको पहिलो खेल थियो । नेपालले अब तेस्रो खेल भोली मंगलबार क्यानडासँग खेल्नेछ ।