काठमाडौं । ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग ३ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय ४४ रनको सामान्य लक्ष्य क्यानडा हाइप्रफमेन्स टिमले ३६.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । युवराज शर्माले ५६ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४४ रन बनाए । अलि नदिम १४, शुभम शर्मा २९, अजयविर सिंह ९, ओलिभर कक्स १६ र गर्नेक जोहालले १७ रन बनाए ।
नेपालका लागि अनिलकुमार शाहले ४, कप्तान सोमपाल कामी, रिजन ढकाल, ललित नारायण राजवंशीले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३९.४ ओभरमा अल आउट हुदै १ सय ४३ रन मात्र बनाउन सक्यो । नेपालका अनिल कुमार साहले ४९ बलमा ४ चौका र १ छक्कासहित ३४ रन बनाए । अर्जुन साउदले ७२ बलमा ४ चौकासहित ३३ रन जोडे ।
देव खनाल डक, भीम सार्की ६, आरिफ शेख २३, कुशल भुर्तेल २५, गुल्सन झा डक , कुशल मल्ल ७ रनमा आउट भए । एकसमय ७४ रनमा कुनै विकेट नगुमाएको नेपालले बाँकी १० विकेट ६९ रन जोड्दा गुमायो ।
क्यानडा हाईप्रफमेन्सका लागि शाहिद अहमदजाइले ७.४ ओभरमा २७ रन खर्चिएर ५ विकेट लिए । राना सलमान घानीले २ तथा गुरपाल सिन्धु र इफार्न सदातले समान १ विकेट लिए ।
नेपाल आईसीसी विश्वकप लिग २ अमेरिका खेल्न जानुअघि तयारीको स्वरुप क्यानडा दोस्रो रोजाइको टोलीसँग अभ्यास खेल खेलेको हो । अर्को खेल मंगलबार खेल्नेछ ।

















