नेपालकी रेखा पौडेललाई रातो कार्ड

Image

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतविरुद्धको खेलमा नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकी छन् । खेलको ५१ औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले मैदान छाडिन् । अब नेपाली टिम १० खेलाडीमा सीमित भएको छ ।

रेखाले रातो कार्ड पाएपछि नेपाली दर्शकहरुले केहीबेर नाराबाजी गर्नुका साथै मैदानमा पानीको बोतलसमेत फालेका थिए । तनावका कारण केहीबेर खेल रोकिएको थियो । दर्शकहरु रेफ्री आउट भनेर नारा लगाएका थिए ।

मैदानको छेउमा उभिएर सुरक्षाकर्मीले दर्शकहरुलाई शान्त रहन भनेका थिए । म्याच कमिसनर लगायतले स्थितीलाई साम्य बनाएपछि खेल फेरि सुरु भएको छ ।

नेपाली फरवार्ड सावित्रा भण्डारीले दर्शकलाई हात जोडेर शान्त रहन आग्रह गरेकी छन् । साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा यो खेलको बिजेता फाइनल पुग्नेछ ।