काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको फाइनलमा विगतका गल्ती नदोहोर्याउने बताएका छन् । प्रशिक्षक तामाङले बंगलादेशविरुद्ध हुने फाइनलअघिको पत्रकार सम्मेलनमा यस्तो प्रतिक्रिया दिए ।
‘पाँच पटक फाइनल खेलेर पनि हामी च्याम्पियन बन्न सकेका छैनौं । तर यस पटक फाइनल जसरी पनि जित्नु पर्छ भन्ने सोचमा छौं । खेलाडी आत्मविश्वासी देखिएका छन् । विगतमा गरेका गल्तीहरु दोहोर्याउने छैनौं,’ प्रशिक्षक तामाङले भने ।
बुधाबार हुने प्रतियोगिताको फाइनलमा नेपालले साबिक विजेता बंगलादेशको सामना गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः३० मा सुरु हुनेछ । नेपालले भारत र बंगलादेशले भुटानलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए ।
गत संस्करणमा नेपालमाथि ३-१ को जित निकाल्दै बंगलादेश पहिलो पटक च्याम्पियन बनेको थियो । यसैगरी नेपाल चार पटक भारतसँग पराजित भएको छ । प्रशिक्षक तामाङले बंगलादेश बलियो टोली भए पनि फाइनलका लागि तयार रहेको बताए ।
‘साबिक विजेता बंगलादेश बलियो टोली हो । तर हामीलाई घरेलु समर्थकको साथ रहने छ । हामीलाई बंगलादेशको शैली राम्रोसँग थाहा छ । भोलिको फाइनलमा त्यही अनुरुपको योजना हुनेछ । फाइनलका लागि तयार छौं ,’ प्रशिक्षक तामाङले भने ।

















