नेपाललाई पहिलो ओभरमै विकेट

Image

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डविरुद्ध पहिलो ओभरमै विकेट लिएको छ । तीव्र गतिका बलर करण केसीले पाँचौं बलमा ओपनर चार्ली टिअरलाई बोल्ड गरेका हुन् । करणको बल रोक्न चाहेपनि मिस भएपछि बोल्ड भएका हुन् ।

ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले १ ओभरमा १ विकेट गुमाउँदै १ रन बनाएको छ । नेपालले आज स्पिनर ललित राजवंशीको स्थानमा कुशल मल्ललाई मौका दिएको छ ।

स्कटल्याण्डविरुद्ध अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।

लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाली टोलीमा एक परिवर्तन गरेको छ । गत आइतवार अमेरिकासँगको खेलमा टिममा रहेका ललित नारायण राजवंशीको स्थानमा कुशल मल्लले मौका पाएका छन् । बायाँ हाते स्पिनर ललितको स्थानमा विष्फोटक ब्याटर तथा बायाँ हाते स्पिनर कुशलले मौका पाएका हुन् ।

नेपालको प्लेइङ-११ : अनिल शाह, आसिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल(कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने