काठमाडौं । काठमाडौं महानगरपालिकाले महिला साफ च्याम्पियनसिपमा उप-विजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले राष्ट्रिय टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बालाई बुधवार २५ लाख रुपैयाँ हस्तान्तरण गरेका छन्।
मेयर शाहले सामाजिक संजाल फेसबुकमा सम्मान गरेकाे पनि तस्बिर सार्वजनिक गरेका छन्। साथै उनले खेलाडीलाई बधाई दिँदै भनेका छन्, ‘पराजित भएरपनि देशलाई जोड्ने खेलाडीहरुलाई हार्दिक हार्दिक बधाई। नेताले टुक्राएको देशलाई सधै देशलाई यसरी नै जोड्ने काम गरि राख्नु होला।’ 
दशरथ रंगशालामा बुधवार भएको फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको थियो। अघिल्लो संस्करणमा पनि नेपाल बंगालादेशसँगै पराजित भएको थियो।
नेपालले साफ च्याम्पियनसिपमा ६ पटक फाइनल खेलिसक्दा पनि च्याम्पियन बन्न सकेको छैन।
काठमाडौं महानगरले यसअघि पारालिम्पककी रजत पदक विजेता पलेशा गोवर्धनलाई ५ लाख र काभा नेसन्स लिगमा रजत पदक विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीका खेलाडीलाई जनही १ लाख रुपैयाँ नगदसहित सम्मान गरेको थियो।

















