थ्री नेसन्स कप फुटबलका लागि नेपाली टोली घोषणा, यी खेलाडीले पाए मौका

Image

काठमाडौं । ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि लागि अखिल नेपाल फुटबल संघ (एन्फा) शुक्रबार अन्तिम टोली घोषणा गरेको छ। ताजकिस्तान र अफगानिस्तानविरुद्ध मैत्रीपूर्ण खेलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । थ्री नेसन्स कपमा नेपाल, आयोजक ताजिकिस्तान र अफगानिस्तानको‌ सहभागिता रहनेछ।

मैत्रीपूर्ण खेलहरू नोभेम्बर १३ देखि १९ सम्म दुशान्बे सेन्ट्रल स्टेडियममा फिफा विन्डोमा खेलाइनेछन्। नेपालले पहिलो खेल कात्तिक २८ गते ताजिकिस्तान र मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ।

एन्फाले गतसाता पुरुष टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा न्यौपानेलाई नियुक्त गरेको थियो । हाल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक रिक्त रहेकाले न्यौपानेलाई सो जिम्मेवारी दिइएको हो ।

नेपाली २३ सदस्य टोली :

गोलकिपरः किरण कुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल सुनार
डिफेन्डरः अभिषेक लिम्बु, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रन्दिप पौडेल, अन्जल महर्जन
मिडफिल्डरः रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ
फरवार्डस् : जिलेस्पे जंग कार्की, अन्जन विष्ट, निरजन धामी